इटहरीः हाल कोसी राजमार्गको रानी–धरान सडक आयोजनाअन्तर्गत इटहरीमा अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।

हालको सडकलाई विस्तार गरेर ६ लेन बनाउने काम भइरहँदा कम गुणस्तरको निर्माण सामग्री प्रयोग भएको पाइएको छ । ६ लेन सडकको निर्माणमा इटहरीमा कम गुणस्तरको सामग्री प्रयोग भएको भन्दै नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाज इटहरीका अध्यक्ष सन्त डुम्जनले सडक बनाउने क्रममा आवश्यक गिटिको मात्रा नै नमिलाई काम गरेको पाइएको बताए । ‘यो सडक बनाउँदा २० एम.एमभन्दा साना गिटिको मात्रा नै नमिलाई हालेको भनेर हामीले थाहा पायौँ । यसमा नागरिक समाजको ध्यानाकर्षण भएको छ’, उनले भने । यसबारे सडक विभागसँग बुझ्दा डम्पिङ मात्र गरेको जानकारी दिएको डुम्जनको भनाइ छ ।

santa dumjan

‘हामीले यो थाहा पाउनासाथ सडक विभागलाई बुझ्यौँ । उहाँहरुले हामीले यहाँ डम्पिङ मात्र गरेका हौँ भनेर जानकारी गराउनुभयो । त्यसपछि उहाँहरुले यहाँबाट उठाएर अन्यत्र लग्नुभयो । श्रोतका अनुसर यहाँबाट अन्यत्र लगिएको भनिएको त्यो निर्माण सामग्री यही सडक निर्माणमा प्रयोग भएको छ । यसले हामी अझै गम्भीर बनेका छौँ’, उनले भने । केही समयअगाडि इटहरीको धरानलाइनस्थित नेपाल बैंक लिमिटेडको अगाडि मापदण्ड नपुगेको गिटि थुपारिएको थियो । सञ्चारकर्मीहरुले त्यहाँको वस्तुस्थिति बुझ्न जाँदा त्यहाँबाट गिटि उठाएर नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरनजिकै लगेर हालिएको थियो । यहाँको सडक विस्तारको जिम्मा भने कान्छाराम कन्ट्रक्सन प्रा.लि.ले पाएको थियो । सोही कम्पनीले नै अहिले यो सडकखण्डको विस्तारको काम गरिहेको छ ।यसबारे रानी धरान सडक आयोजना कार्यालय इटहरीका प्रवक्ता इन्जिनियर उपेन्द्र दाससँग प्रदेश पोर्टलले प्रतिकृया लिनका लागि तीन पटकसम्म गरेको फोन इन्जिनियर दासले उठाएनन् ।