सोलुखुम्बुः लाखौँ मूल्य पर्ने कृषि उपकरण वर्षाैंदेखि प्रयोगहीन भएर मिल्किरहेको छ भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको एउटा मेसिन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा मिल्किरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो । परियोजनाको १६ लाख बजेटबाट पकेट क्षेत्रका पाँच समूहलाई उक्त मेसिन वितरण गरिएको थियो । ‘प्रत्येक समूहलाई वितरण गरिएका स–साना उपकरण प्रयोगमा आएका छन्,’ सञ्चारकर्मी डिल्ली शर्माले भने, ‘तर कृषकले सङ्कलन गरेर ल्याएको ठूलो परिमाणको कच्चा पदार्थ पिस्ने, सुकाउने, धुने र तौलने उपकरण भने विद्युत् अभावमा त्यत्तिकै थन्किएको छ ।’ मेसिन सञ्चालन गर्नका लागि जेनेरेटर ल्याएको भए पनि विद्युत् सुविधा नपुगेको शर्माको भनाइ छ । स्थानीयस्तरमा उत्पादित बेसारलाई औद्योगीकरण गर्नका लागि २०७४ सालमै सो उपकरण वितरण गरिएको भए पनि अहिलेसम्म थन्किएर बसेको स्थानीय चित्रप्रसाद कट्टेलले बताए ।

जिल्लाको नेचा क्षेत्रलाई अदुवा, बेसार प्रशस्त मात्रामा उत्पादन हुने क्षेत्रको रूपमा लिइन्छ । प्रयोगविहीन अवस्थामा रहेको मेसिन खिया लागेर नचल्ने अवस्थामा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । बेतघारीका स्थानीय बालकृष्ण कट्टेलले बिना अध्ययन उपकरण वितरण गरिँदा कृषि क्षेत्रमा उल्लेखीय उपलब्धि नभएको बताए । परियोजनाले १६ लाख बजेटबाट पकेट क्षेत्रका कृषक समूहलाई पाँच वटा जेनेरेटर, चार कटिङ मेसिन (स्लाइसर), एउटा सुकाउने मेसिन (सोलार ड्रायर), एउटा धुने र पिस्ने मेसिन र डिजिटल तौलिने मेसिन वितरण गरेको थियो । विद्युत् अभाव हुँदा उक्त उपकरण सञ्चालनमा ल्याउन कठिनाइ भएको तत्कालीन जोन सञ्चालक समितिका अध्यक्ष लोचनकुमार शर्माले बताए ।

पूर्वाधारलाई ध्यान नदिँदा उपकरण सञ्चालन गर्न नसकिएको समितिको भनाइ छ । नेपाल सरकारले कृषिमा प्रशस्त लगानी गरेको भए पनि सोचेको जस्तो परिणाम नआउनुको पछाडि बिनाअध्ययन कार्यक्रम निर्माण गर्नु नै रहेको स्थानीय अभिषेक बाँस्तोलाले बताए । कृषकको बिनालगानी प्राप्त उपकरण भएका कारण पनि सुरक्षित साथ नराखिँदा बिग्रने अवस्थामा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । -रासस