इटहरीः इटहरी उपमहानगरपालिका विकासको काममा ‘कुहिरोमा हराएको काग’ जस्तै भएको सर्वत्र आलोचना हुँदै आएको छ । इटहरीवासीलार्ई प्रत्यक्ष आभास हुने विकासको काम गर्न इटहरी उपमहानगर असक्षम भएको भन्दै धेरैले भन्दै आएका थिए । त्यही कुरालाई खण्डन गर्न इटहरी उपमहानरपालिकाले अहिले नगरमा विकासको लहर नै चलाएको छ । देशमा संघीयताको अभ्यास हुनै लाग्दा नगरपालिकाबाट उपमहानगरमा परिणत भएको इटहरीमा हाल २० वटा वडाहरु रहेका छन् । केहीबाहेक इटहरीका अधिकांश वडा कार्यालय भाडाको घर, सामुदायीक भवन र पुराना गाउँ विकास समितिको भवनमा सञ्चालित छन् । जनसंख्याकै आधारमा उपमहानगरमा परिणत भएको इटहरी अन्य आधारहरु पूरा गर्नमा नै केही वर्ष रुमल्लिएको प्रमुख द्वारिकलाल चौधरी बताउँछन् । ‘इटहरी उपमहानगर घोषणा हुँदा उपमहानगरपालिका हुनका लागि चाहिने आधारभूत मापदण्डमा केवल हामीले जनसंख्यमा मात्र पूरा गर्यौँ । टाउको गनेर नै उपमहानर घोषण गर्यौँ । अरु कुनै संरचना र आधारहरु तयार भएका थिएनन्’, प्रमुख चौधरीले भने ।

dwarilal chaudahri

सुरुका वर्षहरुमा उपमहानगर आधारभूत मापदण्ड पूरा गर्नमा नै लागिपरेको उनको भनाइ छ । ‘हामी सुरुमा वर्षहरुमा मुख्य बाटाहरु बनाउनमा लाग्यौँ । हामी ति मुख्य बाटाहरु कालोपत्रे गर्न लाग्यौँ । अहिले हामीले त्यो पनि पूरा गरेका छौँ’, उनले भने । साथै उनले रानी धरान उत्तर दक्षिण सडक उपमहानगरको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यसलाई जोडेर सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा उपमहानगरको आलोचना हुनु आपत्तिजनक भएको बताएका छन् । संघीय सरकारले ठेक्का लागएर काम गरेको भन्दै प्रमुख चौधरीले उपमहानगरले त्यहाँ केही गर्न नसक्ने बताए । ‘अहिले ६ लेनलाई लिएर उपमहानगरको आलोचना भइरहेको छ । त्यो दःुखद हो । हामीले चाहेर पनि त्यहाँ केही गर्न सक्दैनौँ । न त्यहाँ हामी ग्रावेल गर्न सक्छौँ न त अलकत्रा नै हाल्न सक्छौँ । हामीले धुलो उडेर पानी हाल्दा पनि केहिले यो संघीय सरकारको सडक हो तँ किन पानी हाल्छस् भन्नुहुन्छ’, उनले भने । तर, यस्ता टिप्पणीबाट उपमहानगर कति हलचल नहुने उनले बताए । उनले छिमेकी नगर र उपमहानगरको उदाहरण दिँदै पुरानोले भन्दा आफूहरुले विकासमा फड्को मारेको बताएका छन् । ‘धरान र इनरुवा हामीभन्दा पुराना सहर र नगरहरु हुन् । राज्य संरचनामा हामी ढिलो आयौँ । तर, विकासको काममा हामी अगाडि छौँ । उहाँहरुसँग प्रतिस्पर्धा गरेर हामी उछिन्ने अवस्थामा छौँ । यसको अर्थ के हो भने, केवल राजकीय निकायबाट र राज्यकोषबाट मात्र बजेट खर्च गरेर इटहरीको विकास भएको होइन । यहाँका नगरवासीहरुको श्रम, मेहनत र पसिनाबाट इटहरीको विकास सम्भव भएको हो’, प्रमुख चौधरीले भने ।

laxmi gautam

उनले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले मात्र नभएर पहिलेका जनप्रतिनिधिहरुको इमान्दारीले पनि आजको इटहरी सम्भव भएको बताएका छन् । अबका दिनमा पनि नगरवासीसँग हातेमालो गरेर इटहरीको विकासमा लाग्न आफू कटिबद्ध रहेको उनले बताए । इटहरी उपमहानगरले ग्रामीण कनेक्टिभिटिमार्फत् गाउँ गाउँका मूल सडकहरुलाई मुख्य सडकसम्म विस्तार मात्र होइन, कालोपत्रे पनि गरेको छ । यस्तै इटहरी उपमहानगरले वडामा नै आधारभूत स्वास्थ्योपचारका लागि आधारभूत स्वास्थ्य चौकीको शिलान्यास र निर्माणलाई पनि तिव्रता दिइरहेको छ । यसरी इटहरीमा विकास नभएको नभई भ्रम फैलाइएको इटहरीकी उपप्रमुख लक्ष्मी गौतम बताउँछिन् । ‘यो जनप्रतिनिधिले काम गरेनन् भनेर भ्रम फिँजाइएको थियो । अहिले हामीले गरेको कामको नतिजा देखिँदै गएको छ । वास्तवमा अहिले, इमन्दारीपूर्वक काम गरेका रहेछन् जनप्रतिनिधिले भनेर जनताले अनुभूति गरेका छन्’, उप–प्रमुख गौतमले भनिन् । सुरुवाति आप्ठ्यारमा पनि उपमहानगरले इमान्दारीपुर्वक काम गरेको गौतमको दाबी छ । ‘ हामी सुरुका वर्षदेखि नै इमान्दारीपूर्वक काम गरिहेका थियौँ । सुरुमा हाम्रा केही अप्ठ्याराहरु, केही असजिलाहरु थिए । पहिलो कुरा त, हामी निर्वाचित भएर कार्यालय जाँदा एक समय एक जना पनि कर्मचारीहरु थिएनन् । कर्मचारीको अभावका कारण हामीले नगरसभाबाट विनियोजन गरेको बजेटलाई खर्च गर्न कार्यान्वयन गर्ने कुरामा केही चुनौती थिए । कर्मचारी समायोजनपछि हामीले नगरमा ढुक्कले काम गर्न थालेको बल्ल डेढ वर्ष भयो’, गौतमले भनिन् । केही दिनयता वडा कार्यालय र स्वास्थ्य चौकीको शिलान्यासको लहर ल्याएको उपमहानगरले केही समयपछि नै उद्घाटनको लहर ल्याउने गौतम बताउँछिन् ।

silanyasha bord

‘अहिले हामीले शिलान्यासको लहर ल्याएका छौँ । अबको केही समयपछि नै हामी उद्घाटनको लहर लिएर आउँछौँ । हाम्रा सबै बहुवर्षे सडकको उद्घाटनको कार्यक्रम सुरु हुन्छ । हाम्रा शिलान्यास गरिएका वडा कार्यालयका भवन र स्वास्थ्य चौकीहरुको उद्घाटनको काम सुरु हुन्छ । हामी वैशाखसम्ममा सम्पूर्ण स्वास्थ्य चौकीको उद्घाटन गर्नेगरी काम गरिहेका छौँ’, उप–प्रमुख गौतमले भनिन् । गौतमका अनुसार इटहरी उपमहानगरपालिकाका १४ वटा वडामा निर्माणाधीन स्वास्थ्य चौकी वैशाखसम्ममा निर्माण सम्पन्न हुने छन् । जसले दुरदराजमा रहेका नगरवासीहरु सानो–सानो स्वास्थ्यसम्बन्धी समस्या हुँदा पनि इटहरी चौक नै आउनुपर्ने बाध्यता कम हुने उपप्रमुख गौतम बताउँछिन् । ‘यो वर्ष हामी करिब करिब सबै स्वास्थ्य चौकीको उद्घाटन गरिसक्ने छौँ । अहिले शिलान्यास भएका वडा कार्यालयहरु हामी अर्को वर्षसम्म उद्घाटन गरिसक्छौँ । यस्त,ै हामी यो वर्ष मात्र करिब ४० वटाभन्दा बढी सडकहरु वहुवर्षे योजनाबाट निर्माण गर्दैछौँ । यी सबैको लागत करिब एक अर्बजति हुन्छ । तीमध्ये केहीको टेन्डर भइसकेको छ । केहीको हामी गर्दैछौँ’, गौतमले भनिन् । जनप्रतिनिधिको यो कार्याकाल पूर्णरुपले पूर्वधार निर्माणको सुनौलो कार्याकालको रुपमा अंकित गर्दौ बिदा हुने तयारीमा आफूहरु रहेको गौतमको भनाइ छ ।

itaharia basi

वडा नम्बर २ बाट वडा कार्यालय भवनको शिलान्यासलाई तिव्रता दिएको उपमहानगले त्यो वडाको निर्माण सम्पन्न गरिसकेको छ । भाडाको घरबाट आफ्नो सेवा प्रवाह गर्दै आएको २ नम्बर वडाले अहिले आफ्नै भवनबाट वडावासीलाई सेवा प्रवाह गरिरहेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा उपमहानगरले बिहीबारसम्म वडा नम्बर ३, ४, ५, ८ र ९ को भवनको शिलान्यास गरीसकेको छ । केही दिनमा नै वडा नम्बर १३, १४ र १९ मा पनि वडा कार्यालय शिलान्यास गर्ने उपमहानगरको तयारी रहेको छ । योसँगै यो आर्थिक वर्षमा उपमहानगरले १० वटा वडा कार्यालय भवनको शिलान्यास गरेर आगामी आर्थिक वर्ष (आ.व २०७८÷०७९) मा ती सबै वडा कार्यालयहरुलाई आफ्नै भवनमा सार्ने लक्ष्य राखेको छ । सकेसम्म अबको ६ महिनामा नै यी सबै वडा कार्यालयहरुको काम सक्ने उपमहानगरको लक्ष्य रहेको छ ।