विराटनगरः आन्तरिक राजश्व कार्यालय विराटनगरले उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न अपिल गरेको छ ।
यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे । यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्ने र करदाता नियमनमा बाँधिने भएकाले यसबाट सबैले सुविधा लिनुपर्ने उनको धारणा छ । कार्यालयले जारी गरेको अपिलमा कुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिनाहा हुनेछ । सोभन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनुपर्ने छैन ।
स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्मको कारोवार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३÷७४, २०७४÷७५ र २०७५÷७६ को आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिनाहा हुने भनिएको छ । स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७३÷७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ । विसं २०७५ असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने करदाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयको अपिलमा छ ।
आयकर ऐन, २०५८ , मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण (झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणबाहेक) उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा दिइने भनिएको छ । यस्तै, सोही कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा चार अर्ब ५४ करोड ९१ लाख ८९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्व ५१ करोड ९८ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा दुई करोड ९३ लाख ६४ हजार बढी राजस्व असुल भएको छ ।
विगतमा कार्यालयले लक्ष्य हासिल गर्न धौधौ भइरहेको अवस्थामा लक्ष्यभन्दा बढी राजश्व असुल गर्नु र कार्यालयले सार्वजनिक अपिलले झन प्रगतिमा सुधार हुने विश्वास भएको प्रमुख सापकोटाले बताए । सङ्कलित राजश्वमा आयकर एक अर्ब ७७ करोड ५१ लाख ९६ हजार रुपैयाँ, मूल्यअभिवृद्धि कर एक अर्ब ३७ लाख ७७ लाख ३१ हजार र अन्तःशुल्क एक अर्ब ३९ करोड ६२ लाख ६२ हजार रुपैयाँ छन् । गत साउनदेखि माघसम्ममा कार्यालयले आयकरमा एक सय ३१, मूल्य अभिवृद्धिकरमा एक सय ६७ र अन्तःशुल्कमा ६० प्रतिशत प्रगति हासिल गरेको छ । गएको वर्षभन्दा यस वर्ष सो अवधिमा आयकरमा चार, मूल्य अभिवृद्धिकरमा २६ र अन्तःशुल्कमा पाँच प्रतिशत प्रगति भएको छ । आन्तरिक राजश्व कार्यालयको मातहतमा मोरङको विराटचोक, पथरीमा पनि सेवा कार्यालय स्थापना गरिसकेको छ भने यसबाट कूल ५२ हजार करदाता लाभान्वित हुने विश्वास लिइएको छ । -रासस