काठमाडौँः काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ति (हाइमास्ट लाइट) जडान कार्य सुरु हुने जनाएको छ ।
महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करिब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ति जडान सुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए । गत मङ्सिर २५ गते महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै प्रक्रिया अघि बढाइएको हो । प्रमुख उज्यालो अभियानअन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाइएको हो । महानगरपालिकााले आफ्नो क्षेत्रभित्रका करीब ८० स्थानमा बढी प्रकाश दिनसक्ने आधुनिक बत्ति (हाइमास्ट लाइट) जडान गर्ने लागेको हो । सडकमा करिब एक हजार ७५० आधुनिक बत्ति जडान गर्न महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ ।
जहाँ महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । प्रमुख थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ति जडान गरिने छ । पुतलीसडकदेखि बालुवाटारसम्म र त्रिभूवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गरिनेछ । थापाले नयाँ बानेश्वर, माइतीघरलगायतका स्थानमा अहिलेकै खम्बा प्रयोग गरेर आधुनिक बत्ति जडान गरिने बताए । पहिलो चरणको बत्ती जडानका लागि ११ करोड खर्च हुने भएको छ । नयाँ पोल थप्नुपर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको छ । अहिले काठमाडौंका मुख्य सडक राष्ट्रपति कार्यालय आसपासका सडक, कालिमाटीका सडकमा बत्ति नहुँदा पैदल यात्रु र सवारी चालकले समस्या भोगिरहेका छन् । -रासस