इटहरीः संघीय सरकारको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २३ गते अपराहन्न ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

अन्य बैठकहरुमा मिति टुङ्गो लाग्न नसकेकोमा आजको बैठकले मिति र समय दुवै किटान गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिए । गत पुस ५ गते मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले भंग गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो । नेपालको संविधान २०७२ अनुसार संसद् भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएकाले संसद् विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनाको माग राखी सर्वोच्च अदालतमा दायर भएका रिटहरुउपर अन्तिम सुनुवाइ गर्दै अदालतले एमिकस क्युरीको रायसमेत लिई संसद विघटनको सरकारी निर्णय बदर गरी संसद पुनःस्थापनाको निर्णय गरेको हो ।

आफैँले संसद् विघटन गरेकाले प्रधानमन्त्रीले पुनःस्थापित संसद्को बैठक आह्वान नै नगर्न सक्ने खतरालाई मध्यनजर गर्दै संवैधानिक इजलासले संवैधानिक प्रावधानसमेत विचार गरी फैसला भएको मितिले १३ दिनभित्र संसद् बैठक आह्वान गर्न राष्ट्रपति कार्यालयका साथै सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही बाध्यकारी परमादेशका कारण सरकारले संसद् बैठक आह्वान गरेको हो ।