झापा/ झापाको मेचीनगर–६ स्थित काँकरभिट्टामा सञ्चालित अधिकांश होटल खाद्य स्वच्छता निर्देशिका २०७४ विपरीत सञ्चालनमा रहेको पाइएको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक विकास शाखाको संयोजनमा क्षेत्रीय खाद्य प्रविधि विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, मेचीनगर नगरपालिका, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकरभिट्टा, क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरलगायतको टोलीले आइतबार काँकरभिट्टाका होटलहरूको अनुगमन गरेको थियो ।

टोलीले बाहुनडाँगी रोडमा रहेको होटल नर्थ इष्ट तथा मेची मिष्ठान्न भण्डारमा तालाबन्दी गर्दै २४ घण्टे पूर्जी थमाएको छ । होटलको भान्साकोठा फोहोर भएको, काम गर्ने मानिसको एप्रोन नभएको र अघिल्ला दिन बनाएका मिठाई बिक्री गर्न राखेको भन्दै तालाबन्दीसहित २४ घण्टे पूर्जी थमाएको टोलीले जनाएको छ । २४ घण्टाभित्र होटल सफाइ गर्न टोलीले होटल सञ्चालकलाई चेतावनी पनि दिएको छ । होटलमा शौचालयको पाइपको समेत उचित व्यवस्थापन नपाएको, भान्सा कोठामा साङ्ला, मुसाजस्ता वस्तु फेला परेको टोलीले जनाएको छ ।

अनुगमनका क्रममा ‘वान स्टार’ को मान्यता पाएको ढाका होटलले समेत निर्देशिका पूरा नगरेको पाइएपछि टोलीले ‘घ’ श्रेणी जनाउने पहेँलो स्टिकर टाँसेको छ । ‘वान स्टार’ को होटल भए पनि आवश्यक मापदण्ड पूरा नगरी सामान्य होटल झै सञ्चालन गरेकाले कारवाही स्वरूप सामान्य लेखिएको पहेँलो स्टिकर टाँसिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक सुरेशकुमार सिंहले बताए । यसअघिको अनुगमनमा समेत ढाका होटलको भान्साकोठा फोहोर भेटिएको र १ महिनाभित्र सफाइ गर्न चेतावनी दिइएको थियो ।

‘हामीले पटकपटक सम्झाउँदासमेत होटल सञ्चालकले अटेर गरेपछि बाध्य भएर कारवाही स्वरूप पहँेलो स्टिकर टाँस्नु परेको हो’, सिंहले भने, ‘भन्न चाहिँ ‘वान स्टार’ को भन्ने सेवा चाहिँ सामान्य होटल जत्तिको पनि नदिने, ‘वान स्टार’ को होटल सञ्चालन गर्दा मापदण्ड पूरा गर्नुप¥यो ।’ होटल व्यवसायीले एक महिनाभित्र होटलको सरसफाइमा ध्यान दिए त्यस अनुसार अर्काे स्टिकर टाँस्ने टोलीले जनाएको छ । ढाका होटलको भान्सामा काम गर्नेले सामान्य एप्रोनसमेत नलगाएको पाइएको बताइएको छ ।

यसैगरी, सुविधा सम्पन्न भनिएको होटल ताजमा पनि खाद्य मिति गुज्रिएका खाद्यवस्तु फेला परेको छ । ती अखाद्य वस्तु तत्काल नष्ट गर्न होटल सञ्चालक दीपक कार्कीलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुंगानाले बताए ।

होटल ताजको पनि भान्साकोठा दुर्गन्धित र फोहोर भएको भन्दै ५० देखि ६० अंक दिँदै सामान्य लेखिएको पहेँलो स्टिकर टाँसिएको छ । यसभन्दा अघि टोलीले अनुगमन गर्दासमेत ताज होटलमा यस्तै फोहोर भेटिएको टोलीले जनाएको छ । पटकपटक सम्झाउँदा समेत नमानेपछि यो स्टिकर टाँसिएको र पुनः अनुगमनमा यस्तै भेटिए होटल बन्द गर्न सक्ने सिंहले बताए ।

काँकरभिट्टाका २१ वटा होटल अनुगमन गर्दा ग्रेस, बेगनास, दार्जिलिङ, फेवा र रेञ्जी प्यालेस ५ वटाले खाद्य स्वच्छता स्तर वर्गीकरणमा ‘ग’ सहितको सन्तोषकजनक लेखिएको हरियो स्टिकर पाएको मेचीनगर नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख एवम् खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए । ‘ग’ सहितको सन्तोषजनक लेखिएको हरियो स्टिकर, ‘घ’ सहित सामान्य लेखिएको पहँेलो स्टिकर टाँसिएका होटलले उल्लंघन भएको केही जोखिमयुक्त मापदण्ड एक महिनाभित्र सुधार गर्नुपर्ने टोलीले जनाएको छ । टोलीले खाद्य स्वच्छता र स्तर वर्गीकरणमा होटलको स्तर हेरेर अंक दिँदै स्तरीकरण लोगो टाँसेको हो ।

होटलको अति उत्तम स्तर कायम गर्न ९० भन्दा माथि अंक प्राप्त गर्नुपर्ने छ । उत्तमका लागि ८० देखि ८९ अंक, सन्तोषकजनकका लागि ६५ देखि ७९ अंक र सामान्य का लागि ५० देखि ६४ अंक प्राप्त गर्नुपर्दछ । काँकरभिट्टाका नाम चलेका घारी रेष्टुरेण्ट, एकान्त, ताजलगायतका होटलले ५० देखि ६४ अंक प्राप्त गरेका छन् । टोलीमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराई, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेशकुमार बस्नेत, क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका कार्यवाहक अध्यक्ष सुरेशकुमार श्रेष्ठ, सचिव रामबहादुर तामाङ, होटल व्यवसायी अञ्जु थापालगायतको सहभागिता थियो । टोलीले अनुगमन गरिएका होटल सञ्चालकलाई खाद्य स्वच्छता प्रणालीको अडिट गर्ने, प्रणालीमा देखिएका समस्यालाई १ महिना समय दिई सुधार गर्न भनेको छ ।