इलामः यहाँका स्थानीय तह विकास निर्माणका कामसँगै खानेपानी योजना निर्माणमा तल्लीन छन् ।

कतै खानेपानीका लागि योजना बन्दै छन् भने कतै पाइप बिच्छ्याउने काम धमाधम भइरहेको छ । सूर्योदय नगरपालिकाले ६६ करोड रुपैयाँको खानेपानी योजना सञ्चालन गर्ने भएको छ । सूर्योदयको कन्याम, लक्ष्मीपुरलगायत १४ वटै वडामा खानेपानी समस्याको दिगो समाधानका लागि विभिन्न आयोजना निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागमातहतको इलाम कार्यालयबाट सञ्चालन हुने कन्याम पञ्चकन्या खानेपानी योजनाबाट सूर्योदयको मात्र नभई इलाम नगरपालिका र रोङ गाउँपालिकासमेत लाभान्वित हुनेछन् । योजनाको प्रक्रिया अघि बढेपछि नगरमा खानेपानी समस्या समाधानका निम्ति ऐतिहासिक कार्य भएको नगर प्रमुख रणबहादुर राईले बताए । तीन वर्षमा योजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनका लागि सरकारको ९० प्रतिशत र १० प्रतिशत जनसहभागिता रहनेछ ।

जनसहभागिताको १० प्रतिशतभित्र बुझाउनुपर्ने अग्रिम एक प्रतिशत शुल्क अर्थात ६६ लाख जम्मा गरिसकेको नगर प्रमुख राईले जानकारी दिए । बाँकी ९ प्रतिशत संरचना निर्माणका लागि जग्गा व्यवस्थापन, धारा जडान, पाइपलाइन विस्तारका लागि जनश्रमदान रहनेछ । यस्तै, इलाम सदरमुकामस्थित इलाम नगरपालिकामा पनि खानेपानी योजना निर्माणाधीन छ । ‘इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजना’ आउँदो चैतसम्ममा सक्ने योजनाका साथ निर्माण गरिँदै छ । इलाम नगरबासीको स्वच्छ खानेपानीमा सहज पहुँच पु¥याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना सुरु गरेको थियो । -रासस