सर्लाहीः सर्लाहीको लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने सहर बनेको छ । गोलभेँडाको सहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ ।

गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीका ८० प्रतिशतभन्दा बढी जमिनमा गोलभेँडा खेती गरिँदै आएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक गोलभेँडा खेतीतर्फ आकर्षित हुँदै आएका छन् । कृषिउपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मङ्सिरदेखि माघसम्म अर्थात् तीन महिनामा ११ करोड २८ लाख ४४ हजार पाँच सयको गोलभेँडा निकासी भएको छ । लालबन्दी बजारबाट मात्र तीन महिनाको अवधिमा व्यापारीले किसानसँग ५६ लाख ७१ हजार एक सय केजी गोलभेँडा खरिद गरेर निर्यात गरेका छन् । माघ महिनामा मात्र लालबन्दी बजारबाट ३८ लाख ७८ हजार पाँच सय केजी अर्थात् छ करोड २० लाख ५६ हजार बराबरको गोलभेँडा किसानसँग खरिद गरेर व्यापारीहरुले निर्यात गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिए ।

माघमा गोलभेँडा प्रतिकेजी १२ देखि २० रुपैयाँमा किनबेच भएको छ । त्यस्तै पुस महिनामा १४ लाख ४४ हजार एक सय केजी अर्थात् तीन करोड २४ लाख ९२ हजार दुई सय ५० रुपैयाँ बराबरको गोलभेँडा लालबन्दीबाट निकासी भएको छ । मङ्सिरमा भने तीन लाख ४८ हजार पाँच सय केजी अर्थात् एक करोड ८२ लाख ९६ हजार दुई सय ५० बराबरको गोलभेँडा किसानसँग खरिद गरेर व्यापारीहरुले निकासी गरेको समितिले जनाएको छ । मङ्सिर महिनामा किसानले गोलभेँडाको प्रतिकेजी न्यूनतम ४५ देखि ६० सम्म पाउने गर्दछन् भने पुसमा १० देखि अधिकतम ३५ रुपैयाँमा किनबेच हुने गर्दछ । फागुन लागेदेखि भने किसानले प्रतिकेजी अधिकतम १५ रुपैयाँसम्म मात्र पाउने गर्दछन् । घाम तात्दै अर्थात् गर्मी अत्यधिक बढ्दै गएपछि गोलभेँडा उत्पादन बढ्ने भएकाले किसानले फागुन लागेसँगै मूल्य भने अत्यन्त कम पाउने गरेका छन् ।

सर्लाहीबाट बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेँडाको मात्र गत विगत वर्षहरुमा एक याममा ३५ करोड हाराहारीमा कारोबार हुने गरेको थियो । गत वर्ष र यस वर्ष भने केही घटी हुने बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र वाग्मती नगरपालिका क्षेत्रका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती हुने गर्दछ । यसैगरी विगत तीन महिनामा सर्लाहीमा १५ करोडभन्दा बढीको गोलभेँडा उत्पादन भएको छ । जिल्लाकै नवलपुर, सासापुर, हरिवनलगायत बजारबाट मुलुकका विभिन्न शहरमा निकासी हुने भएको तथा जिल्लाभित्रै आन्तरिक खपतको परिमाण अनुमान गर्ने हो भने यो तीन महिनामा १५ करोडभन्दा बढीको गोलभेँडा सर्लाहीमा उत्पादन भएको जानकारहरु बताउँछन् । -रासस