काभ्रेपलाञ्चोकः सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड–सुधार गरिरहेको छ ।

राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्रयाक खोल्न प्रक्रिया थालिएको छ। हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड–सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनले रु एक करोड ६० लाख बजेटमा उक्त सडकखण्डमा मोड–सुधार तथा धुलिखेलदेखि केही तल पहिरो नियन्त्रणको काम भइरहेको बताए । ‘धुलिखेल–पाँचखाल सडकखण्डमा ‘साइड डिस्ट्यान्स्’सहित मोड–सुधार भइरहेको छ, यसले दुर्घटना न्यूनीकरणमा मद्दत गर्नेछ’, योगेशले भने । उनका अनुसार बनेपा सहरस्थित अरनिको राजमार्ग दायाँबायाँ करिब डेढ किलोमिटर सर्भिस ट्रयाक (रिसिलिङ कालोपत्र) को प्रक्रिया अघि बढाइएको छ । सो योजनाका लागि रु छ करोड बजेट छुट्याइएको छ। काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगादेखि धुलिखेलसम्म दश किलोमिटर अरनिको राजमार्गको दायाँबायाँ सर्भिस ट्रयाक निर्माणका प्रक्रिया थालिएको कार्यालयका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार पाँचखाल बजारमा ५०० मिटर पक्कीसहित सर्भिस ट्रयाक खोल्ने काम भइरहेको छ । हाल कार्यालयले डेढ करोड बजेटमा धुलिखेल बजारको मुख्य चोक सडक सुधार गर्दै पुरानो बजारमा फुटपाथ निर्माण थालेको छ । जीर्ण बनेपा–पनौती छ किलोमिटर पक्की गर्न सङ्घीय सरकारले हालैमात्रै रु १६ करोड ७५ लाख बजेट थपेपछि कालोपत्रको काम सुरू भएको छ । पनौती नगरस्थित खोपासीदेखि बेथानचोक गाउँपालिकाको कामीडाँडासम्म करीब ३० किलोमिटर कच्ची सडकको स्तरोन्नति गरिरहेको छ । संघीय सरकारको पछिल्लो रु १५ करोड बजेटले हाल ड्रेन–रिटेनिङ वाल, कज–वे, ढलनिकस तथा ग्राभेलको काम भइरहेको कार्यालयले जनाएको छ । पनौती नगरले रु एक करोड थपको सो सडकखण्डको हाल चार हजार ५०० मिटर ग्राभेल भएको छ । सङ्घीय बजेटबाटै हाल नगरकोट–गैरिबिसौना–हिउँवापाटी १० किलोमिटर र बनेपा–रविओपी–पाँचखाल १६ किलोमिटर कच्ची सडक स्तरोन्नतिको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार बनेपा–रविओपी–पाँचखालअन्तर्गत छ किलोमिटर पक्की भइसकेको छ ।

योगेशले भने, ‘केही क्रमागत बजेटले स्तरोन्नति गर्दै ग्राभेल तथा ग्राभेलपछि पक्की गर्दै जानेछौँ ।’ उनका अनुसार बजेटको निरन्तरताले कुनै पनि योजना रोक्नुपरेको छैन। पाँचखालमा पनि तीन किमी वैकल्पिक सडक पक्की भइरहेको छ । स्तरोन्नति प्रस्तावित सडक एवं सम्पदा निर्माणार्थ बोलपत्र आह्वान भइसकेको योगेशले बताए । सङ्घीय सरकारमार्फत हाल अरनिको राजमार्ग स्तरोन्नतिका लागि रु सात करोड ४० लाख, कोशीपूर्वस्थित सडक कालोपत्रे गर्न रु ३३ करोड बजेट छुट्याइएको छ । -रासस