इटहरीः इटहरीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बुधबार वडा नम्बर १० की १३ वर्षीया बालिकालाई नाच सिकाउने गुरुले नै बलात्कार गरेका हुन् ।

तिहारमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम अन्तर्गत नाचको तयारी गर्न गएकी बालिकालाई नाच सिकाउने क्रममा २१ वर्षीय नवीन बिकले एकान्तमा बोलाई बलात्कार गरेका थिए । नाचको बारेमा कुरा गर्नु छ यहाँ हल्ला हुन्छ अलि शान्त ठाउँमा गएर कुरा गर्नुपर्छ भन्दै बुढी खोला किनारमा लगेर बिकले बलात्कार गरेको बालिकाले बताएकी छिन् ।

बलात्कारको क्रममा बालिका चिच्याएकी थिइन् । बालिका चिच्याएपछि बिकले बालिकालाई ढुङ्गाले हान्न खोजेका थिए । चिच्याएको आवाज आएपछि स्थानीयले बिकलाई रङ्गेहात पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

बालिकाको घरबाट लगातार बालिकालाई फोन गर्दा फोन नउठेको आफन्तले बताएका छन् । अन्तिममा बिकले नै फोन उठाएर ‘बैनी बिरामी भएको’ बताएका थिए । आफूमाथि जबर्जस्ती भएको पछिमात्र बालिकाले थाहा पाएको बताएको परिवारले जनाएको छ । अहिले बालिकाको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रहरीले थप अनुसन्धानको लागि आज आरोपी बिकलाई जिल्ला अदालत लगेको बताइएको छ ।