झापाः नेपालमा प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ । झापाको मेचीनगर–६ का २४ वर्षीय भानुभक्त बस्नेत र दमक–४ का दीपक तामाङलाई लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगरका अलगअलग स्थानबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्का लागी प्रहरीले चेक गर्ने क्रममा मेचीनगर–६ दुर्गा मन्दिर परिसरबाट पक्राउ परेका बस्नेतको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारेको थियो । यसैगरी तामाङका साथबाट प्रहरीले लुपिजेसिक २२, फेनारगन २२ र डाइजीपाम २२ गरी ६६ एम्पुल इञ्जेक्सन प्रहरीले फेला पारेको थियो ।
थप अनुसन्धानका लागि लागूऔषधसहित दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।