झापाः पूर्वी नाकाबाट मरिचको तस्करी बढेको छ । भारतमा मरिचको भाउ महङ्गो भएका कारण मरिच तस्करीमा संलग्नले दोब्बरभन्दा बढी नाफा कमाउने भएकाले यसको तस्करी बढेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगरका विभिन्न स्थानबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २ सय ५० केजी मरिचसहित करिब ३ लाख रुपैयाँ मूल्यभन्दा बढीको अवैध सामान पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक महेश थापाका अनुसार १२ हजार ५ सय रुपैयाँ मुल्य बराबरको २५ केजी सुकमेल, २० हजार रुपैयाँ मूल्य बराबरको ४ सय केजी मटर, ५१ हजार रुपैयाँ मूल्य बराबरको २ सय ५५ केजी सुपारी तथा ३३ हजार रुपैयाँ मूल्य बराबरको ३३ डण्डा चुरोट पक्राउ गरिएको हो । यसैगरी, प्रहरीले गोप्य सूचनाका आधारमा लत्ताकपडा र खाद्यान्नका सामग्रीसमेत पक्राउ गरेको छ ।
पक्राउ गरिएका सबै वस्तु आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

मेचीनगरको नकलबन्दा, सतिघट्टा, भानुटोललगायतको बाटो हुँदै भारतका विभिन्न बजारमा मरिच पुर्याउने गरेको पाइएको छ । भारतसँग सीधा सीमा जोडिएको नेपाली बजारमा मरिच स्टोर गरी राखिने गरिएको छ ।