बेलबारीः मोरङको बेलवारी नगरपालिकाले किसानलाई कृषि क्षेत्रबाट व्यवसायिक बनाउन बिज वृद्धि कार्यक्रमलगायत विविभ सामग्री हस्तान्तरणका कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ ।

जसअन्तर्गत वडा नम्बर ५ मा सन्चालित गहुँको बीजनवृद्धि कार्यक्रमलाई सोमबार उपमेयरसहित,वडाध्यक्ष र वडाका जनप्रतिनिधिहरुले अवलोकन गरेका हुन् । ‘नगरपालिकाले बीउ र सीप प्रदान गर्यो । हामीले दुःखपूर्वक मेहनत गरेर गहुँ खेती लहलह भयो । यसमा पनि उपमेयरसहित वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु हाम्रा समस्या बुझ्न समय समयमा आइदिनु भो हामी खुसी र उत्साहित छौँ ।’–समूहकी अध्यक्ष मन्जु अधिकारीले भनिन् । बेलबारी नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका किसानहरूलाई निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिक कृषक बनाउनका निम्ति स्थानीयस्तरमै शुद्ध र गुणस्तरीय बीउ उत्पादन गर्ने उद्देश्यले समुहमा आवद्ध सयौं किसानहरूलाई गहुँको बीउ वितरण गरेको छ । बेलबारी नपा वडा नं ५ स्थित मिश्रित व्यावसायिक तरकारी उत्पादन समूहलाई सामूहिक रूपमा ६ हेक्टर जग्गाका लागि आवश्यक ९०० क्विन्टल बीउ उपलब्ध गराएको कृषि शाखाका कर्मचारी विनोद दाहालले बताए ।

kheti2

बीएल ४३४१ जातको उन्नत बीउ वितरण गरिएकोमा किसानहरूले उत्पादन गरेको गुणस्तरीय बीउ कृषि सामग्री संस्थानले नै किसानबाट उपयुक्त मूल्यमा खरिद गरिदिने शर्त रहेको यस वडाका वडाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष विश्वबन्धु बस्नेतले आफ्नो सम्बोधनका क्रममा बताए । अनुगमनकै क्रममा हाल यस समूहले उत्पादन गरेको बीउ भोलिका दिनमा नगरपालिकाका अन्य वडाहरूमा समेत लगिने र आम किसानहरूलाई कृषिमा आधुनिकीकरण र यान्त्रीकरणका माध्यमबाट व्यावसायिक र उत्पादनमा जोड्न यी र यस्ता कार्यक्रम ल्याइएको हो । किसानहरूका थप आवश्यकताहरूको पहिचान गरी नगरपालिकाले आवश्यक सहयोग गर्दै उत्पादनशीलतामा जोड दिने लक्ष्य रहेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् । उपमेयर पराजुलीले मूलतः धान, धानबाट हुने चामल र चामलबाट भातलगायतको परिकार खाने आफ्नो बानी विकसित भएको भए पनि यसको भरपर्दो विकल्पको रूपमा गहुँलाई अब क्रमशः अनिवार्य खाद्य बालीको रूपमा विकास गर्नुपर्ने कुरामा जोड दिँदै सरकार खाद्यवस्तु आयातलाई रोक्न र निर्यात बढाउनमा लागेको बताइन् ।

kheti3