बेलबारीः मोरङको बेलबारी नगरपालिकाले बेरोजगार नागरिकहरुलाई आत्मनिर्भर बनाउन उद्यमशीलताका विभिन्न कार्यक्रमहरु सुरु गरेको छ ।
उद्यमशीलताका माध्यमबाट नागरिकहरुलाई आयआर्जनसँग जोड्दै उद्यमी र व्यवसायी बनाउने उद्देश्यले नगरपालिकाले मेड्पासँगको समन्वयमा उक्त कार्यक्रम सुरु गरेको हो । वडा नं ५ मा सञ्चालित व्यवसाय सचेतता सुरु तथा लैङ्गिक समता र सामाजिक समावेसीकरण तालिम सोमबार समापन भएको छ । पहिलो चरणको आठदिने सीप छनौट तालिमको समापनमा बोल्दै वडाअध्यक्ष विश्वबन्धु बस्नेतले यस परियोजनाले वडावासीहरु उत्साहित भएको र भोलिका दिनमा आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । समापन कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले नगरपालिकालाई समृद्ध बनाउन नागरिकहरुको आर्थिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताउँदै भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक,मानवसंसाधन विकास र सुशासनको सवालमा नगरपालिकाले कसैसँग सम्झौता नगरी डर, धम्की र कुनै प्रभावमा नपरी अगाडि बढेको र बढिरहने बताइन् ।
‘हामी इमानदार रक्षक र सेवक हौँ । स्थानीय सरकार र जनप्रतिनिधिहरु नीतिगत रुपमा सरकारको भूमिकामा रही हर्दम इमानदार सेवकजस्तो भई कुशल नेतृत्व प्रदान गर्नुपर्ने विषय हामीले भुलेका छैनौँ । नगरपालिकाले छोटो अवधिमा पनि विकास निमार्णका कार्यहरु सडक निमार्ण, स्तरोन्नति, खानेपानी, शिक्षा,स्वास्थ्य सिँचाइ, कृषि र स्वरोजगारलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै गर्दा अबका दिनमा बेरोजगारी समस्या समाधान गरी नागरिकलाई आत्मनिर्भर स्वरोजगार बनाउन उद्यमशीलता र व्यवसायिक सीप प्रदान गर्न आवश्यक भएकोले उक्त परियोजना कार्यान्वयन गरिरहेका छौँ ।’ –उपप्रमुख पराजुलीले भनिन् । उपमेयर पराजुलीले नगरपालिकाले उद्यमशील बन्न चाहने नागरिकहरुलाई वैधानिकताका सवालमा स्थानीय तहबाट नै सहजीकरण गर्न कार्यविधि निर्माण गरिरहेको बताइन् ।