झापाः जन्मँदै घरबारविहीन भएर वर्षौँसम्म कष्टकर जीवन बिताउँदै आएका झापाका मुसहर परिवारले शौचालयसहितको घर पाउँदा भगवानको कृपा भन्दै खुसी व्यक्त गरेका छन् ।
परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका उनीहरूले जस्ताको छाना भएको तीनकोठे घर पाएपछि नयाँ जीवन पाएकोजस्तो भएको बताए । कनकाईमा ‘मेयर आवास कार्यक्रम’अन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको हो । घरबारविहीन विपन्न परिवारलाई जस्ताको छाना भएको घरमा बसोबासको व्यवस्था मिलाउने अभियानमा क्रियाशील स्थानीय सरकार कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरतास्वरुप कनकाई–४ स्थित मुसहर बस्तीका १४ परिवारलाई घर हस्तान्तरण गरेको हो । ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घर निर्माण सम्पन्नपछि ह्याविट्याट नेपालका राष्ट्रिय निर्देशक कृष्टि स्टिक्नी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरूपमा मेयर आवासको चाबी परिवारजनलाई हस्तान्तरण गरेका थिए ।
नगरपालिकाले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै विभिन्न दातृ निकाय र सङ्घसंस्थासँगको सहकार्यमा दुई सय १९ वटा घर निर्माण सम्पन्न गरी परिवारजनमा हस्तान्तरण गरिसकेको नगरपालिकाका प्रमुख पोखरेलले बताए । कार्यक्रममा उनले आगामी आर्थिक वर्षमा नगरपालिकालाई जीर्ण घरमुक्त नगरपालिकाका रूपमा घोषणा गर्ने अभियानमा आफूहरू लागेको जानकारी दिए । पोखरेलले यसै आवमा समेत अन्य दातृ निकायसँग साझेदारीमा काम गर्नका लागि दुई करोड विनियोजन गरिसकिएको बताए । उनले अर्को वर्ष अन्य विकासका बजेट कटौती गरेर भए पनि कनकाईलाई देशकै पहिलो जीर्ण घरवासमुक्त नगर घोषणा गर्ने बताए । नेपालको पहिलो उज्यालो नगरी घोषणाको तयारीमा रहेको नगरपालिका यसअघि देशकै पहिलो विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ । सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पनालाई साकार पार्ने अभियानमा कनकाई नगरपालिका अग्रस्थानमा देखिएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले खुसी व्यक्त गरे । -रासस