दमकः सहजरूपमा मल पाउन नसकेको दमकका कृषकले गुनासो गरेका छन् । स्थानीय सरकारले मल आयात र बिक्रीमा सीमित सहकारी संस्थालाई मात्र अनुमति दिएपछि यहाँका कृषक सहजै मल पाउनबाट वञ्चित भएका हुन् ।
स्थानीय सरकारले कृषि मल बिक्रीमा दमकका आधा दर्जन सहकारी संस्थालाई ६ महिनाअघि बिक्री अनुमति दिएपछि मलको सहज आपूर्तिमा समस्या आएको कृषकको बुझाइ छ । कृषि मल तथा अन्य आवश्यक कच्चा सामग्री बेच्दै आएका कृषि भण्डारले यसअघि सरकारमार्फत उपलब्ध हुने मल बिक्री गर्दै आएका थिए । तर, यसपटक स्थानीय निकायले मापदण्ड पुगेका मल बिक्रेता भण्डारलाई समेत बिक्री अनुमति नदिँदा समस्या आएको दमक–६ स्थित श्रेखरा कृषि भण्डारका सञ्चालक पदम बुढाथोकीले बताए । स्थानीय सरकारले नजिकका सहकारीलाई मात्र बिक्री अनुमति दिएपछि त्यस्तो समस्या देखिएको हो । दमक–६ कै बबिन कृषि भण्डारका सञ्चालक बसन्त न्यौपानेले पनि सरकारमार्फत अनुदानमा आउने मल बिक्री वितरणमा एग्रोभेटलाई बेच्न नदिँदा किसानले समस्या झेल्नुपरेको बताए ।
किसानलाई सहजरूपमा मल उपलब्ध गराउन स्थानीय सरकारले चासो नदिँदा त्यसको प्रत्यक्ष मार किसानले भोग्नुपरेको उनको भनाइ छ । ‘किसान मल खोज्दै हामीकहाँ आउँछन्, तर त्यस्तो मल बिक्री गर्न नदिँदा दुःख पाउँदै आएका छन्,’ उनले भने । किसानका लागि गुणस्तरीय मल आयात र बिक्री वितरणको जिम्मा पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले स्थानीय तहसँग समन्वय गरी बिक्री वितरण गर्न थालेको हो । कम्पन्नीसहित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी अनुदानमार्फत युरिया, डिएपी, पोटासलगायत मल आयात गर्दै आएको छ । सबै प्रकारका मल सिङ्गापुर, भारत, बङ्गलादेश, कोरिया, जापानलगायत मुलुकबाट आयात भएको छ । कर्पोरेसनले पनि पछिल्लो केही वर्षदेखि मल आयात गरी बिक्री गर्दै आएको छ । -रासस