झापाः पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेसमै उद्यमशीलतामा रमाउन थालेका छन् ।

मेचिनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन् । उनको ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उनले एक करोड लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । दश बिघा जमिन लिजमा लिएर दुई वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोअर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ । उनको फार्ममा हाल १९ माउ बोअर जातका बाख्रा, २० माउ सानन जातका, १६ वटा बोअर खसी र ४० बढी पाठापाठी छन् । एउटा बीउ बोका पनि पालिएको छ । अस्ट्रेलियाबाट किनेर ल्याइएको बोअर बोकाको दाम पाँच लाख परेको छ ।

आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ दुबईबाट घर फर्किएपछि उनले घरेलु कार्यालयमा फार्म दर्ता गरेर सुरुमा बङ्गुर र ब्रोइलर कुखुरा पालेका थिए । मेचीनगर–१० स्थित आफ्नै जग्गामा उनको बङ्गुर फार्म थियो । आम्दानी पनि राम्रै हुन थालेको थियो तर बस्ती बालिँक्दै गएपछि गाउँभित्र बङ्गुर फार्म सञ्चालन गर्न अप्ठ्यारो भयो । त्यसपछि बङ्गुर र कुखुरा फार्म बेचेको पूँजीसहित उनले मेचीनगर नगरपालिका–१४ मा १० वर्षका लागि जग्गा लिजमा लिएर बाख्रा फार्म सञ्चालन गर्न थाले । फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने खोर बाहिर लहरे तरकारी खेति र बाख्राका लागि आवश्यक घाँसखेति गरिएको छ । यहाँ उत्पादित बोयरका पाठापाठी प्रतिकेजी दुई हजार पाँच सयका दरले जिउँदै बिक्री हुने गरेको छ । उनका अनुसार बोअर जातका बाख्रा अस्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन् । बोअर बाख्राको घाँटीमा खैरो रङको घेरो हुन्छ । बोअर बाख्रा दुई वर्षमा तीनपटक ब्याउने र सानन वर्षमा दुईपटक ब्याउने गरेको उनले जानकारी दिए ।

तीन महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उनको भनाइ छ । दैनिक ती बाख्रालाई एक सय ८० लिटर पानी र ३० केजीको हाराहारीमा पौस्टिक आहार खुवाउने गरिएको छ । पछिल्लो समय आधुनिक र उन्नत जातको बाख्रापालन फस्टाउँदै गएकाले बजारको समस्या छैन । पाठा हुर्कन नपाउँदै किन्न आउनेको लाइन हुन्छ । उनले बोका भए तीन महिनामा प्रतिगोटा एक लाख २० हजारदेखि एक लाख ५० हजारसम्म र पाठी भए एक लाखसम्ममा बिक्री हुने बताए । यस व्यवसायबाट सन्तुष्ट उनले पाँच वर्षभित्रमा दुई सय बोयर बाख्राको माउ पालेर बीउ उत्पादन केन्द्रका रूपमा फार्मलाई विकसित गर्ने बताए । ‘हालसम्म कसैसँग एक पैसा पनि सहयोग र अनुदान लिएको छैन,’ उनले भने, ‘आफ्नै पौरख र बैङ्कबाट ऋण लिएर झण्डै एक करोड खर्च गरेर फार्म सञ्चालन गरेको छु ।’ -रासस