झापाः इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापालाई जिल्ला प्रहरी कार्यालय झापाले असोज महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी कार्य सम्पादन गर्ने क्रममा असोज महिनामा १६ लाख ५८ हजार ४ सय ५० रुपैयाँ मूल्य बराबरको अवैध सामान उनले बरामद गरेका थिए । त्यसका साथै अन्य उत्कृष्ट कार्य गरेबापत प्रहरी नायब उपरीक्षक थापालाई झापा जिल्लाका प्रहरी कार्यालयमध्येबाट असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

लागूऔषध, विष्फोटक पदार्थ, विष्फोटक पदार्थ पड्काउने फयूज केप, तार, नक्कली पेस्तोल जस्ता आपराधिक घटनमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउने काममा थापा सफल भएको उनलाई दिइएको सम्मान पत्रमा उल्लेख छ ।

विभिन्न विद्यालय तथा क्याम्पससँग आवश्यक समन्वय गरी जनचेतनामूलक काम पनि उनले गरेको ढकालले बताए ।