इनरुवाः सुनसरीको सीमानाका क्षेत्रबाट प्रहरीको सेटिङमा बिस्फोटक पदार्थ भित्रिने गरेको स्थानीय बताउँछन् ।
सुनसरीका सीमावर्ती क्षेत्रहरूमा दैनिक नजराना लिई तस्करहरूलाई सरसमान नेपाल भित्र्याउन सहज वातावरण बनाइदिने गरिएको जनगुनासो बढ्न थालेको छ ।
सुनसरीका दक्षिणवर्ती क्षेत्र कप्तानगञ्ज, साहेबगञ्ज, कोउवाखोज, सिसुवा, वसन्तपुर, घुस्की, नरसिंह, श्रीपुर, लौकहीलगायतका क्षेत्रबाट अत्यधिक रूपमा अवैध मालसमान नेपाल भित्रिने गरेको छ । सो क्षेत्रमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले घुमुवालाई प्रयोग गरी दैनिक र मासिक रूपमा रकम दिई तस्करले सामान भित्र्याउने गरेको स्थानीय बताउँछन् ।
नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले बताएअनुसार सशस्त्र प्रहरी नै तस्करको नाइके हुन्छ । नेपाल भित्रिएपछि अवैध सामान पक्राउ पर्नु तर बोर्डरमा पक्राउ नपर्नुले त्यसलाई पुष्टि गर्ने उनको भनाइ छ ।
मुलुकी अपराधसंहिताको विस्फोटक पदार्थ कसुर अन्तर्गत सामान्य विस्फोटक पदार्थ बिक्री गर्नेलाई ३० हजार जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएअनुसार सुनसरीमा नागरिकहरूको गोप्य सूचनाका आधारमा तिहार र छठलाई लक्षित गरी बिक्री गर्न राखिएको १३ लाख मूल्य बराबरको विष्फोटक पदार्थ पटाकाहरू बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक राजन अधिकारीले नागरिकहरूको सहयोगका कारण यस वर्ष धेरै मात्रामा विष्फोटक पदार्थ बरामद भएको जनाए ।
धरानबाट २१ बोरा, इनरुवाबाट ४ बोरा र लौकहीबाट ४ बोरा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । जसमध्ये धरानमा पटाकासँगै पक्राउ परेकालाई कानुनी कारवाहीका लागि बिहीबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ ।