दुहबीः दुहबीमा लागूऔषध निषेध तथा मदिरा नियन्त्रण सचेतना अभियान समिति गठन भएको छ । मङ्गलबार दुहबी–४ स्थित मालहट्टीमा दुहबीको वडा नम्बर ४ को आयोजनामा भएको कार्यक्रममा समिति गठन भएको हो ।
गुलाबी मियाँको संयोजकत्वमा १७ सदस्यीय लागूऔषध निषेध तथा मदिरा नियन्त्रण सचेतना अभियान समिति गठन भएको हो । दुहबीको वडा नम्बर ४ का वडाध्यक्ष राजन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनारायण माझी, सशस्त्र प्रहरी बेस क्याम्पका इञ्चार्ज, दुहबी वडा नम्बर ४ का वडा सदस्य तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
सरकारले मदिरा सेवन गरेको व्यक्तिलाई सार्वजनिक स्थलमा प्रवेश निषेध गर्ने भएको छ । गृह मन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रणसम्बन्धी राष्ट्रव्यापी विशेष अभियान चलाउँदै यस्तो गर्न लागेको हो । गृहले ‘स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माण अभियान, २०७५’ नाम दिएर छिट्टै त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
गृहले सबै जिल्ला प्रशासन कार्यालय र गृहको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा पत्राचार गरी लागूऔषध निषेध तथा मदिरा नियन्त्रण विशेष अभियान चलाउन भनेको छ । वडास्तरमै लागूऔषध निषेध तथा मदिरा नियन्त्रणसम्बन्धी सचेतना अभियान समिति गठन गरी सरकारले मदिरा बिक्री र सेवनकर्तामाथि कडाइ गर्न लागेको छ ।
मदिरा बिक्रीको इजाजत प्राप्त पसलबाट इजाजतपत्रमा उल्लेखित शर्तविपरीत हुने गरी अन्य उपभोग्य वस्तु बिक्री भएको पाइएमा र मदिरा बिक्रीका लागि इजाजतपत्र नलिई मदिरा बिक्री गरेको पाइएमा समेत अनुगमन गरी तत्काल कारबाही गर्न गृहले भनेको छ । त्यतिमात्र होइन, सार्वजनिक स्थानमा मदिरा वा मदिराजन्य पदार्थसम्बन्धी होडिङ बोर्ड, पर्चा, पोष्टर टाँस्ने, वितरण गर्ने कार्यलाई समेत नियन्त्रण गर्न भनिएको छ । सबै स्थानीय तहसम्म कारवाहीको अभियानलाई बिस्तार गर्ने सरकारले जनाएको छ ।