रुसको नियन्त्रणमा रहेका क्रिमिया र युक्रेनको पूर्वी क्षेत्रमा मध्य मार्चदेखि रुसले सैन्य संख्या बढाइरहेको युक्रेन र पश्चिमा सरकारले दाबी गरेका छन् ।

रुसले युद्धका लागि उक्साउन खोजिरहेको उनीहरूको आरोप छ । यसमा रुसको अभिप्राय के हो भन्ने स्पष्ट छैन । यद्यपि पछिल्लो समय विकसित घटनाक्रमका बारेमा यहाँ केही जानकारी दिने प्रयास गरिएको छ ।

के युक्रेनमाथि आक्रमणको तयारी गर्दैछ रुस ?
युक्रेनको पूर्वी सीमा र क्रिमियामा रुसले सैन्य गतिविधि बढाएको समाचारहरू प्रकाशित भएका छन् । क्रिमियाको सेनासहित केही रुसी सेनाले अभ्यास गरिरहेका जनाइएको छ । तर राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने रुसी सीमाभित्र सेना परिचालन रुसको आन्तरिक मामला भएको भन्दै त्यसमा कसैले चासो देखाउन आवश्यक नरहेको बताएका छन् । रुसले करिब १४ हजारको संख्यामा सेना हुने १६ बटालियन रणनीतिक समूह थप गरेको युक्रेनी जासुसी स्रोतलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

हाल क्रिमिया र युक्रेनको पूर्वी सीमामा रुसले ४०\४० हजार सेना परिचालन गरेको युक्रेनको दाबी छ । त्यसो भए के यो आक्रमणको तयारी हो ? यस्तो हुन पनि सक्ला । तर ठूलो आक्रमणको सम्भावना भने नरहेको विश्लेषकहरू बताउँछन् । रुसले अधिक प्रयोग गर्ने र विश्वास गर्ने विधि भनेको घुसपैठ हो ।

रुस किन युक्रेनसँग युद्धको स्थितिमा छ ?
सन् १९९१ मा रुसमा साम्यवाद ‘असफल’ भएपछि रुसी सेनाले तत्कालीन सोभियत संघमा संघर्ष बढेको क्षेत्रमा हस्तक्षेप ग¥यो । रुसले क्रिमिया कब्जा गरेपछि सन् २०१४ अप्रिलमा रुस समर्थित पृथकतावादीले पूर्वी युक्रेनको दोनेस्क र लुहान्स्क क्षेत्र कब्जा ग¥यो । यसअघि युक्रेनको राजधानी कीवमा महिनौं चलेको पश्चिमा समर्थित प्रदर्शनले रुस समर्थित राष्ट्रपति भिक्टर यनुकोभ्याचलाई सत्ताबाट हटाएको थियो । यो घटनाले यी दुईबीचको सम्बन्धमा थप दरार ल्याएको थियो । संघर्ष चलिरहेको डोनबास क्षेत्रका अधिकांश नागरिकसँग रुसी पासपोर्ट छ । रुसी राष्ट्रपति पुटिनले विदेशमा रहेका आफ्ना नागरिक पनि खतरामा परे रुसले प्रतिरक्षा गर्ने बताउँदै आएका छन् ।

रुस–युक्रेन सम्बन्ध शत्रुतापूर्ण भएपनि युद्धस्तरमा भने बिग्रिसकेको छैन । यी र अन्य संघर्षमा पनि रुसको साइबर आक्रमण, जीआरयू विशेष दस्ता परिचालन र प्रोपोगान्डाहरू (जसलाई हाइब्रिड वारफेयर भनिएको छ) न त युद्ध हो न त अन्त्य संघर्षहीन अवस्था नै हो । रुस र युक्रेनबीच भएको संघर्षको क्रममा हालसम्म १३ हजार बढीको ज्यान गइसकेको छ । सन् २०१४ मा यी दुई देशबीच लडाइँ भएको थियो भने सन् २०१५ मा युद्धविराम गरिएको थियो ।

किन फेरि युक्रेनलाई ‘धम्की’ दिँदैछ रुस ?
रुस र युक्रेनबीचको तनाव बढाउन विभिन्न कारकहरूको भूमिका रहेको विश्लेषकहरूको मत छ । गत फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोडिमर जेलेस्कीले युक्रेनका धनी र शक्तिशाली व्यापारी भिक्टर मेडभेडचुकमाथि प्रतिबन्ध लगायो । उनलाई रुसी राष्ट्रपति पुटिनका विशेष मित्र समेत मानिन्छ ।

रुसले सञ्चालन गरेको तीन वटा टेलिभिजन प्रसारणमा पनि युक्रेनले रोक लगायो । यसका अलावा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा रुसप्रति कडा कदम चाल्ने संकेत गरेका जो बाइडेनको पुटिनले परीक्षण गर्न चाहेको केहीको अनुमान छ । -बीबीसीबाट