विकासशील देशहरूमा करिब आधा संख्यामा महिला तथा किशोरीले आफ्नो शरीरसम्बन्धी निर्णय आफैं गर्न नपाएका संयुक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ ।
राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए)ले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विकासशील राष्ट्रका महिलाहरू यौनसम्पर्क, गर्भनिरोधकको प्रयोग, स्वास्थ्य सेवा लगायतका विषयमा आफैंले निर्णय गर्न नपाएको जनाएको छ । अध्ययनको निष्कर्ष ‘डरलाग्दो’ रहेको भन्दै यूएनएफपीएले शारीरिक स्वतन्त्रतका कमीले महिलाहरू सुरक्षा खतरामा परेको उल्लेख गरेको छ । परिणामस्वरूप आर्थिक उत्पादनमा ह्रास आएको छ भने देशको स्वास्थ्य र न्यायीक प्रणालीमा समेत अतिरिक्त भार बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा आफ्नो शरीरसम्बन्धी निर्णय महिला आफैंले लिने अधिकार र सम्बन्धित देशको कानुनले कुन हदसम्म यो अधिकार प्रयोगमा सघाउ वा हस्तक्षेप गरेको छ भन्ने दुई विषयलाई समेटिएको छ ।
यो अध्ययन ५७ विकासशील देशमा गरिएको थियो । अध्ययनअनुसार ४५ प्रतिशत महिला यौनसम्पर्क राख्ने÷नराख्ने, गर्भ निरोधक प्रयोग गर्ने÷नगर्ने जस्ता विषयमा आफैं निर्णय लिन पूर्ण रूपमा सक्षम छैनन् । पूर्वी र दक्षिण–पूर्वी एसियाका ७६ प्रतिशत महिला आफ्नो शरीरको निर्णय आफैं लिन सक्षम भए पनि उप–सहारा अफ्रीका तथा मध्य र दक्षिण एसियामा यो संख्या ५० प्रतिशत भन्दा कम रहेको पाइएको छ । माली, नाइजर र सिनेगलमा ९० प्रतिशतभन्दा धेरै महिला आफ्नो शारीरिक स्वायत्तताबाट वन्चित रहेको यूएनएफपीएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यसको प्रमुख कारणका रुपमा लैंगिक विभेदलाई प्रतिवेदनले औंल्याएको छ । अशिक्षीत महिलाको तुलनामा शिक्षीत महिला आफ्नो शरीरसम्बन्धी निर्णय आफैं लिन सक्षम रहेको प्रतिवेदनमा जनाइएको छ । -अलजजिराबाट