इटहरीः पूर्वी नेपालका विभिन्न स्थानमा हिजो परेको असिना पानीका कारण १२ करोडभन्दा बढी मूल्यका कृषि उपज नष्ट भएका छन् ।

हिजो बिहीबार अपराहन्न साढे चारदेखि साढे पाँच बजेसम्म परेको असिनाका कारण धनकुटाको छथर जोरपाटी गाउपालिका, महालक्ष्मी नगरपालिका तथा अन्य क्षेत्रहरुका खेतमा किसानले लगाएका आरेकेल मोटर (केराउ) मार्फा (चौडा रायो), माधुरी फुलकोभी लगायतका तरकारी बाली नष्ट भएको हो । असिना पानीले छथरजोरपाटी गाउँपालिकाका वडा नम्बर २, ५ र ६ का साथै महालक्ष्मी नगरपालिकाको वडा नम्बर १, ८ र ९ मा बढी क्षति पुर्याएको जिल्लाकै सिधुवा बजारका तरकारी व्यवसायी मेघराज गुरुङले जानकारी दिए । उनका अनुसार काट्न तयार भएको अन्नबालीमा पनि असिना पानीले क्षति पुगेको छ ।

asina pani3

 

यसैबीच, बिहीबार राति परेको असिना पानीका कारण मोरङको रतुवामाई नगरपालिका क्षेत्रका किसानले लगाएको तरकारी बालीमा पनि क्षति पुगेको छ । रतुवामाई नगरपालिका ९ का किसानहरुले लगाएको लाखौँ मूल्यका चैते धान, मकै, काँक्रा, टमाटर, खोर्सानी लगायतका तरकारी तथा अन्न बाली नष्ट भएको हो । असिना पानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको कृषि सहकारी संस्थाका व्यवस्थापक सुरेश गौतमले जानकारी दिए । क्षतिको विवरण सङ्कलन गरेर रतुवामाई नगरपालिका, कृषि शाखा र कृषि विकास निर्देशनालय विराटनगरमा बुझाइने उनको भनाइ छ ।

asina pani 2