इटहरीः ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज उपमहानगापलिकामा भएको एक कार्यक्रममा नगर प्रमुख द्वारिकलाल चौधरी र एसपी राजन अधिकारीबीच सहमति भएको हो ।

सहमतिपत्रमा हस्ताक्षर भएपछि मेयर चौधरीले सबै नागरिक बिनाबर्दीको प्रहरी भएको भन्दै समुदायमा शान्ति स्थापना गर्न आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘प्रहरीले चाहेर मात्र शान्ति स्थापना गर्न सक्दैन’, मेयर चौधरीले भने, ‘अमनचयनपूर्ण तरिकाले समाजमा जिउनका लागि राज्यको संयन्त्रलाई सहयोग गर्नुपर्छ ।’

समाजमा अपराध गर्ने मात्र दोषी नभएको भन्दै अपराध लुकाउने पनि उत्तिकै दोषी रहेको उनले बताए । उनले यो समझदारीलाई नयाँ उचाइमा पु¥याउन उल्लेख्य भूमिका खेल्ने भन्दै इटहरी उपमहानगरपालिकाको तर्फबाट आफ्नो दायित्व पूरा गर्ने बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले टोलस्तरसम्म पुुगेर दिगो र दीर्घकालीन सहकार्यमार्फत् समुुदायमा शान्ति निर्माण गर्ने भूमिका प्रहरीले खेल्नुपर्ने बताए । ‘समुदायका विभिन्न जिम्मेवार व्यक्तिले अपराध रोकथाम गर्न जिम्मेवारपूर्ण तवरले काम गर्न सक्छन्’, उनले भने, ‘यो कार्यक्रम राष्ट्रव्यापी रूपमा चलेको हुँदा अबको सहकार्य पूर्ण समुदायमा केन्द्रित रहने छ ।’

12

कार्यक्रमअन्तर्गत नगर स्तरदेखि टोल स्तरसम्मको सामुदायिक प्रहरी साझेदारी अन्तर्गतका इकाइ गठन हुनेछन् । इलाका प्रहरी कार्यालयका डिएसपी शिवकुमार श्रेष्ठका अनुसार आज भएको छलफलले नयाँ समिति निर्माण गरी समुदाय र प्रहरीबीच पुलको काम गर्नेछ ।

आज भएको बृहत छलफलमा समुदायका विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।