ओखलढुङ्गाः सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ ।

यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो । मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ ।

“यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ,” उनले भने, “म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ । प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया सुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ । ” कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया सुरु गराउने प्रतिवद्धता जनाएका थिए । -रासस