विराटनगरः अपहरणपछिको हत्यामा संलग्न आरोपी मोहम्मद सदिम हुसेन र मोहम्मद आरिफ आलम प्रहरीकै सहयोग लिएर थुनुवा कक्षबाट भागेको आशङ्का गरिएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरको थुनुवा कक्षबाट गत हप्ता भेन्टिलेसनको रड काटेर भागेका दुई आरोपी भगाउन प्रहरीको सामुहिक संलग्नता रहेको आशङ्का गरिएको हो ।

विराटनगर–१७ का मोहम्मद अस्फाकको अपहरणपछि गत असोज १ गते हत्या गरेको आरोपमा असोज १४ गते पक्राउ परेका आरोपित हुसेन र आलम कात्तिक ९ गते बिहान भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालयले छुट्टा–छुट्टै समिति गठन गरेर घटनाको छानबिन गरिरहेको छ । ५ दिनको म्याद दिएर छानबिन समिति बनाएको जिल्ला प्रहरी कार्यालय मोरङको समितिले प्रतिवेदन अझै बुझाएको छैन । घटना अनुसन्धानसँगै भागेका दुई आरोपित खोज्ने कामलाई सँगै बढाइरहेको समितिका संयोजक प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार थुनुवा भगाउन सामुहिक संलग्नता देखिएपछि धेरैसँग बयान लिनुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले प्रतिवेदन बुझाउन ढिला भएको हो ।

थुनुवा कक्षमा रहेको भेन्टिलेसनका ६ वटा रड काटेर भागेका हुसेन र आलमले भाग्ने दिन इलाका प्रहरी कार्यालय रानीको क्यान्टिनबाट ३ हजार रुपैयाँबराबरको नास्ता खाएको देखिन्छ । २ जना व्यक्तिले एकै दिनमा ३ हजारको नास्ता कसरी खान सक्छन् भन्ने विषयले समेत कार्यरत प्रहरीमाथि आशङ्का जन्माएको छ ।

भेन्टिलेसनका ६ वटा रड काट्न एक बित्ताको पत्ती प्रयोग भएको छ । सो काम एकै दिनमा सम्भव नहुने भएको लामै समय लगाएर योजनामा रड काट्न प्रहरीले सहयोग गरेको समेत आशङ्का गरिएको छ ।

हत्या आरोपी फरार भएको रात इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला बिदामा रहेका थिए । प्रहरी निरीक्षक बिदामा हुनु, निमित्त प्रमुख मेलाको ड्युटीमा जानु, अभियुक्तलाई अदालतले लिने बयान समाप्त भएर पहिलो फैसला शुक्रबार नै आउने तयारी हुनु, थुनुवालाई महिला थुनुवा कक्षमा राखिनुले बढी आशङ्का जन्माएको छ । संयोगजस्तो देखिएको घटनाक्रमले थुनुवा भगाउन सबैको संलग्नता रहेको आशङ्का गर्न सकिने मृतक असफाकका बुबा खलिल मियाको भनाइ छ ।

प्रहरीले इलाका प्रहरी कार्यालयका सबैलाई अनुसन्धानको दायरामा राखेर बयान लिइरहेको छ । छानबिन समितिका संयोजक थापाका अनुसार कार्यरत र जिम्मेवारीमा रहेका सबैसँग घटनाक्रमका बारेमा बुझ्ने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षको पूर्व भागकोे भित्तामा २ वटा भेण्टिलेसन छ । भेण्टिलेसनमा २ लेयरमा राखिएको ६ वटा रड काटेर हत्या आरोपी भागेका थिए । भेन्टिलेसनबाट बाहिर निस्किएको भन्ने विषयमा पनि आशंका छ ।

७ जनालाई अनुसन्धानका लागि जिल्ला तानेको प्रहरीले तत्काल ड्युटीमा रहेका १ प्रहरी हवल्दार र १ जवानलाई निलम्बन गरिसकेको समितिका संयोजक थापा बताउँछन् । ड्युटीमा प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरू रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगन्नाथ बास्के रहेका थिए । प्रहरी हवल्दार रौनियार र जवान बास्केलाई निलम्बन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा थिए । अस्फाक हत्या आरोपमा पक्राउ परेका ५ जनामध्ये मुख्य अभियुक्त हुसेन र आरिफलाई छुट्टै कक्षमा राखिएको थियो । अस्फाक हत्यामा हुसेन र आरिफलाई सहयोग गरेको आरोपमा पक्राउ परेका अन्य ३ थुनवासहित १७ जना छुट्टै कक्षमा थिए । प्रहरीले फरार थुनुवा भारततर्फ भागेको हुन सक्ने आशङ्का गरेर खोजतलासको लागि विशेष प्रहरी समेत परिचालन गरेको छ ।

यता, पीडित परिवारले भने प्रहरीको संलग्नतामा हत्या आरोपी भगाइएको भन्दै तत्काल उच्चस्तरको छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । बिहीबार विराटनगरमा मृतक अस्फाकका बुबा खलिल मियाँले पत्रकार सम्मेलन गरेर प्रहरी निरीक्षक सन्तोष निरौलासहित सबै प्रहरीलाई निलम्बन गरिनुपर्ने माग गरेका छन् ।