विराटनगरः विराटनगर महानगरपालिकामा न्यायिक इजलाश शुरु गरिएको छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा गठन हुने न्यायिक समितिद्वारा गरिने न्याय निरुपणका लागि इजलाशको शुभारम्भ गरिएको हो ।
महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा गठित समितिले अब मुद्दाको अध्ययन र न्याय निरुपणको काम इजलाशबाट गर्नेछिन् । इजलाशको बिहीबार नगरप्रमुख भीम पराजुलीले उद्घाटन गर्दै छिटो न्याय दिने उद्देश्य न्यायिक समितिले राख्नुपर्ने बताए ।
देवानी प्रकृतिका मुद्दा उजुरीको रूपमा आए हरेक बुधबार इजलाश राखेर सुनुवाई गर्ने महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक इन्दिरा कार्कीले जनाइन् । इजलाशमा कार्की संयोजक तथा विनोदकुमार बस्नेत र तीर्थेन्द्र न्यौपाने सदस्य रहेका छन् ।
हालसम्म ७१ वटा उजुरी दर्ता
विराटनगर महानगरपालिकामा हालसम्म ७१ वटा विभिन्न प्रकृतिका मुद्दाका उजुरी परेका छन् । त्यसमध्ये सबैभन्दा बढी २३ वटा सम्बन्ध विच्छेदका मुद्दा छन् । तीमध्ये १५ वटा मुद्दा जिल्ला अदालत पठाइएको छ । २ वटा मुद्दामा मेलमिलाप भएको छ भने ६ वटालाई तारेखमा राखिएको छ ।
यसैगरी, घरजग्गा मोहियानी हकसम्बन्धी १२ वटा मुद्दाको उजुरी परे पनि ३ वटा खालि गराइएको र ९ वटाको आवश्यक प्रक्रियामा राखेर अनुसन्धान भइरहेको बताइएको छ । बसोबास, क्षतिपूर्ति र शान्ति सुरक्षाको माग गर्दै परेका ३४ उजुरीमध्ये २३ वटा विचाराधीन अवस्थामा रहेको संयोजक कार्कीले जनाइन् ।