इटहरीः नेपाल तरुण दल सुनसरीले जिल्लामा जारी निषेधाज्ञाका कारण रोजगारी गुमाएका मजदुरहरुलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गर्न थालेको छ ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट सहितको महामारी तिव्र रुपमा फैलँदै गएको र जिल्लामा मानवीय क्षतिसमेत हुन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको कडा निषेधाज्ञाका कारण जिल्लाभरको आर्थिक गतिविधि ठप्पप्राय रहेको छ । यसबाट दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्ग रोगभन्दा भोकले मर्ने अवस्थामा पुगेकोमा आफूहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी खाद्यान्न वितरण गर्न सुरु गरेको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताए । उनका अनुसार तरुण दलको जिल्ला कार्यसमितिमा आबद्ध सदस्यहरुले स्वैच्छिक रुपमा प्रदान गरको सहयोग रकमबाट खाद्यान्न वितरण हुँदै आएको छ ।

rahat.

निषेधाज्ञा जारी रहेसम्म आफूहरुको अभियान नरोकिने बताउँदै उनले विदेशमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गरेर अभियानलाई निरन्तरता दिइने उल्लेख गरे । हालसम्म देशभित्रका व्यवसायीहरुबाट अपेक्षाकृत सहयोग अत्यन्तै न्यून मात्रामा प्राप्त भएको जनाउँदै उनले सहयोग गर्न चाहने दाताहरुले दिएको सहयोग तरुण दलले स्वीकार गर्ने बताए । गत वर्षको लकडाउन अवधिमा समेत असमर्थ मजदुरहरुका घरघरमा गएर खाद्यान्न वितरण गरेको तरुण दल सुनसरीले यस पटक भने कोरोना महामारीको कडा भेरियन्ट र तिव्र संक्रमणलाई मध्यनजर गर्दै मोबाइल सम्पर्कमार्फत् निश्चित ठाउँमा बोलाएर खाद्यान्न सहयोग उपलब्ध गराउन थालेको सभापति गुरुङले बताए । खाद्यान्न सामग्री अभाव भएमा ९८०३३४०९५९ नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन् । नेपाल तरुण दल सुनसरीले यसअघि पनि मास्क, सेनिटाइजरजस्ता सामग्री वितरण गरेको थियो ।