इटहरीः इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा बिरामी परेकाहरू औषधोपचारबाट वञ्चित हुने गरेका छन् । बाहिर देखिने चोटको भन्दा बाहेक अन्य उपचारको लागि औषधीसमेत वञ्चित गरिएको छ । हिरासतमै बिरामी भएका हुन् वा बिरामी अवस्थामै थुनिएका हुन् उनीहरूका लागि आवश्यक औषधीसमेत लैजान नपाइने व्यवस्था गरिएको छ ।
केही दिन अगाडि फलफूलसहित थुनुवा आफन्त भेट्न आएकी इन्दिरा कार्की फलफूलको झोला बोकेरै फिर्ता भइन् । थुनुवा आफन्तलाई फलफूल अगायत अन्य खानेकुरा दिन उनी असफल भइन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख शिवकुमार श्रेष्ठले हिरासतका बिरामीलाई प्रहरीले नै खाना खुवाउने वाचा गर्दै उनलाई फिर्ता पठाए । कार्कीले धेरै पटक अनुनय गर्दासमेत आफन्तलाई ल्याएको सामान दिन पाइनन् ।
बाहिरबाट ल्याएको सामग्रीमा अखाद्य वस्तु मिसाइएको हुन सक्ने भन्दै प्रहरी नायब उपरीक्षक श्रेष्ठले सामग्री फिर्ता गरेको बताए ।
विगत केही दिनदेखि भिआइपी गेस्ट हाउसका सञ्चालक आनन्दकुमार लिम्बू प्रहरी हिरासतमा छन् । उनी सुगर र प्रेसरका बिरामी हुन् । यस्ता बिरामीले नियमित औषधी सेवन नगरे जीवन नै खतरामा पर्छ ।
केही दिन अगाडि उनकी श्रीमती विष्णुकुमारी लिम्बू औषधी लिएर भेट्न गइन् । तर प्रहरीले लान नमिल्ने बताएपछि उनी फिर्ता भइन् । खानेकुरा जथाभावी भएमा ज्यान जान सक्ने संवेदनशील रोग भएका कारण उनले घरैमा बनाएको खाना लिएर इलाका प्रहरी कार्यालयमा उनी गइन् । ‘खाना हामी आफैँ खुवाउँछौ’ भन्दै प्रहरीले उनलाई फर्कायो । प्रहरीले बनाएको खानाका कारण आफ्ना श्रीमान्लाई प्रेसर र सुगरको मात्रा बढिसकेको लिम्बूको भनाइ छ ।
इलाका प्रहरी कार्यालयले भने बाहिरबाट ल्याइएका खानेकुरामा अखाद्य पदार्थ मिसाइएको हुन सक्ने भन्दै रोक्ने गरेको पाइएको छ । खानामा लागूपदार्थ मिसाएर ल्याउने हुँदा भित्र पठाउन नदिएको प्रहरीको दाबी छ ।
अधिवक्ता रेवतीरमण भण्डारी भने प्रहरीले खानेकुरा रोक्न नमिल्ने बताउँछन् । अन्तर्रााष्ट्रिय मानवअधिकारसँग आबद्ध मुलुकमा आफूलाई इच्छा भएको वैधानिक खानेकुरा खान पाउने अधिकार हुने उनको भनाइ छ । तर प्रहरी खानेकुरा रोकेर मानव अधिकारको उल्लङ्घन गरेको उनको दाबी छ । नेपालको संविधानमा पनि खाना पाउने अधिकारलाई स्पष्ट व्याख्या गरिएका कारण हिरासतमा हुने जोकोहीले आफ्नो क्षमता अनुसारको खाना खान पाउनुपर्ने उनको तर्क छ ।
तर इलाका प्रहरी कार्यालय इटहरीले भने हिरासतमा रहेका थुनुवालाई प्रहरीले उपलब्ध गराउने बाहेकका अन्य खानेकुरा खान वञ्चित गराउँदै आएको छ । भण्डारीकै शब्दमा भन्दा प्रहरीले मानवअधिकारको ठाडो उल्लङ्घन गरिरहेको छ ।