विराटनगरः एक वर्षको अवधीमा २ जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिश गरेको रहस्य खुलेपछि विराटनगर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उद्धव (नानीबाबु) अर्याल फरार भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले वडाको सिफारिश छानबिन गर्न निर्देशन दिएपछि मोरङ प्रहरीले कीर्ते कागज बनाई बुबा बनेर नागरिकता दिलाउन खोज्ने सत्यनारायण पोद्दारलाई पक्राउ गरेको थियो ।
पोद्दार पक्राउ परेपछि वडा अध्यक्ष अर्याल फरार भएको प्रहरीले जनाएको छ । पछिल्लो पटक १ साता अघि जिल्ला प्रशासन कार्यालय मोरङले वडा कार्यालयको सिफारिशप्रति आशङ्का गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । कीर्ते जालसाँजी गरेर विदेशीलाई नागरिकता दिलाउन खोजेको अभियोगमा पोद्दार पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिश गर्ने वडाध्यक्ष अर्याल, साक्षी बस्ने वडा सदस्य रमेश साह फरार भएको प्रहरीले पुष्टि गरेको छ ।
वडा सचिव पुष्पा तिम्सिना पनि सम्पर्कविहीन भएकी छिन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी निशान थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । उनले कीर्ते कागज बनाउने पोद्दारलाई पक्राउ गरेको बताउँदै अन्य फरार रहेको जानकारी दिए । पक्राउ परेकाविरुद्ध भोलि आइतबार अदालतमा लग्ने तयारी भएको थापाले बताए ।
कीर्ते गरी २०६५ साल यता पोद्दारसहितको समूहले ७ जना गैर नेपालीलाई नागरिकता दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ । वडा अध्यक्ष अर्यालले समेत २ जनालाई नागरिकता बनाउन सिफारिश गरेको अनुसन्धानका क्रममा खुलेको छ । दुवै सिफारिशमा पोद्दारले बुबा बनेर कागज तयार पारेको बताइएको छ । तर प्रहरीले भने कसैको नाम सार्वजनिक गरेको छैन ।
‘भोलि मुद्दा अदालतमा बुझाउँछौ,’ डिएसपी थापाले भने, ‘अहिले नाम खोल्न मिल्दैन ।’ अर्याल विराटनगर महानगर कार्यपालिकाका प्रवक्ता पनि थिए ।