धरानः धरान प्रहरीले लागूऔषधसहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
धरान–८ तिनकुनेस्थित अस्थायी प्रहरी चौकीको प्रहरी टोलीले शरीर जाँचको क्रममा दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–८ को करिब टोलका २४ वर्षीय नवीन भनिने किशोर राई र मोरङको सुन्दरहरैचा– ८ का ६५ वर्षीय नरेन्द्रबहादुर पौडेल रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका राईको साथबाट लागूऔषध एभिल ७ थान, डाईजेल्याब ७ थान र लुपिजेसिक ७ थान फेला परेको इप्रका धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए । धरानतर्फ आइरहको सवारी जाँचको क्रममा राईले बोकेको झोला चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको थियो ।
यस्तै, पौडेलको साथमा भने प्रहरीले ६ सय ग्राम लागूऔषध गाँजा फेला परेको डिएसपी तिम्सिनाले बताए । विश्वकर्मा मन्दिरतर्फबाट आउँदै गरेका पौडेलले बोकेको झोला जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा फेला परेको थियो । पक्राउ परेका राई र पौडेलमाथि लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।