इटहरीः मोरङको विराटनगर महानगरपालिका ८ स्थित विश्वकर्मा चौकबाट प्रहरीेले चोरी गरिएको ५० हजार नेपाली रुपैयाँ नगद र अढाई तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका २२ वर्षीय अनिलकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार अभियुक्त यादवले सोही ठाउँका राजकुमार श्रेष्ठको घरमा आज बिहान करिब २ः०० बजे चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । आफ्नै घरबाट पक्राउ परेका अभियुक्त यादवलाई चोरी मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।