विराटचोकः गाडीको गति नाप्नका लागि राडर गनको प्रयोग गरिन्छ । कुन गतिमा गाडी कुदिरहेको छ भनेर प्रहरीले राडर गन मार्फत् हेर्ने गर्छ । राडर गन नहँुदा गति नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय बेलबारीले पुराना ड्रम राख्न थालेको छ ।
नेपालीहरूको महान चाडका रूपमा मनाइने तिहार नजिकिँदै जाँदा राजमार्गमा गाडीको चाप बढ्दै जान थालेको छ । त्यसपछि राडार गनको अभावमा गति नियन्त्रण गर्नका लागि पुराना ड्रमहरू राखिएको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर १ को सरकारले सडक दुर्घटना नियन्त्रण गर्न प्रदेश सरकारले घोषणा गरेको सडक सुशासन कार्यक्रम नै घोषणा गरिसकेको छ । प्रदेश सरकारले प्रदेशभित्र पर्ने मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरलाई पहिलो चरणमा छनोट गरेको छ । ती जिल्लामा सडक सुशासन नमुना कार्यक्रम शुरु गर्ने भनी २ महिनाअघि नै बताइएको थियो । तर अहिलेसम्म कुनै कार्यक्रम लागू हुन भने सकेको छैन ।
प्रदेश सरकारले घोषणा गरेको कार्यक्रम लागू गरेकै स्थानमा प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै प्रहरी चौकी विराटचोकको अगाडि ७÷८ वटा ड्रम राखेको छ । सुनसरीमा इटहरीको बुढी खोलादेखि झुम्का बजारसम्म, मोरङमा सुन्दरहरैंचाको गछियादेखि खोर्साने चोकसम्म, झापामा बिर्तामोडको मुक्तिचोकदेखि सुरुङ्गाको माइ पुलसम्म कार्यक्रम सञ्चालित छ ।
त्यस्तै, इलाममा रोङ गाउँपालिकाको किटेनी जोरकलशदेखि हर्कटेसम्म, धनकुटामा पात्ले खोलादेखि कागतेसम्म र उदपयुरमा गाईघाट बजारदेखि जलजले ढाटसम्मको क्षेत्रमा कार्यक्रम सञ्चालन आएको जनाइएको थियो । ती क्षेत्रमा सोलार बत्ती, बस पकेट, डस्बिन, यात्रु प्रतीक्षालय, सडक बत्ती, सिसिटिभी र ट्राफिक लाइट लगाउने बताइएका छ । त्यस्तै, आकाशे पुल, आइक्याट, ट्राफिक चिह्न, विभिन्न सन्देशमूलक होर्डिङ बोर्डलगायत सम्पूर्ण सुविधासहित नमूना सडक बनाउने तयारी गरिएको हो ।
यसैगरी, इटहरी, विराटनगर, विराटचोक, बिर्तामोड, इलाम, भेडेटार र उदयपुर बजारलाई नमुना शहरको रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्यसमेत रहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताएका थिए । प्रदेश सरकारले ६ जिल्लाका १०–१० किलोमिटर सडक छनोट गरी यो कार्यक्रम लागू गर्ने तयारी गरेको थियो । ‘दशंैदेखि नै राजमार्गमा गाडीको चाप बढेको छ’, इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामकुमार राईले भने, ‘दैनिक दुर्घटना पनि बढिरहेको छ । त्यसैले घोषित कार्यक्रमलाई महत्व दिइएको हो ।’