इटहरीः गत असोज १८ गते कोशी किनारमा हत्या गरिएका जीवन खत्वेको परिवार न्यायको खोजीमा भौँतारिइरहेको छ । 

जितिया पर्वको मूर्ति सेलाउन जाँदा उनको हत्या भएको थियो । परम्पराअनुसार १७ गते नै मूर्ति सेलाउनुपर्नेमा जीवन जान नभ्याएपछि १८ गते लाई कार्यक्रम सारिएको थियो । १८ गते पनि जीवन स्कुल गएकाले उनी स्कुलबाट फर्किएपछि २ बजे उनलाई जबरजस्ती गाडीमा हालेर लगिएको प्रत्यक्षदर्शी दीपक खत्वेले बताए । 

जीवनका बुबा विष्णु खत्वे र आमा ललीया खत्वे अहिले न्यायको खोजीमा भौँतारिइरहेका छन् । सम्पूर्ण प्रमाण हुँदाहुँदै पनि न्याय नपाएकोमा उनीहरू दुःखी छन् । जीवनको हत्या गरेको सबुत हुँदाहँुदै पनि न्याय नपाएको उनीहरूको गुनासो छ । 

प्रत्यक्षदर्शी खत्वेका अनुसार राहुल शाह र दीपक पण्डित मूर्ति बोकेर खोलाको बीचमा गएका थिए । नदीको बीचमा पुगेपछि मूर्ति पानीमा झर्यो । त्यही बेला उनीहरूले जीवनलाई बोलाए । जीवन गएपछि उनीहरूले मूर्ति नदीको बीचमा पुग्ने गरी धकेलिदिए । जीवनलाई मूर्ति समाउन भन्दा जीवनले नमानेपछि उनीहरूले जीवनलाई मूर्तिसँगै पानीमा धकेलिदिएको दीपक बताउँछन् । आफूसँग भएको भिडियो प्रमाण प्रहरीलाई देखाउँदा समेत कुनै वास्ता नगरेको उनको भनाइ छ । 

जीवन नदीमा डुबेको आफूले देखेको उनी बताउँछन् । जीवन खोलामा डुबेपछि राहुल र दीपक खोलाबाट बाहिर निस्किएको उनको भनाइ छ । त्यससँगै जीवनको मोबाइल लगायत सम्पूर्ण प्रमाण खोलामा बगाइदिएको उनी बताउँछन् । जीवन डुबेपछि उनीहरु दुवै जना सिटी सफारी चढेर भागेका थिए । 

इनरुवा– ३ का दीपक र भोक्राहका राहुलले राजकुमार खत्वेको इशारमा सबै काम गरेको परिवारको आरोप छ । एक वर्ष अगाडि राजकुमारका दाजु प्रमोद खत्वेले आफ्नै श्रीमतीको हत्या गरेका थिए । जुन कुरा जीवनले प्रहरीलाई भनेपछि उनीहरूबीच मनमुटाव शुरु भएको थियो । त्यसैको बदला लिन जीवनको हत्या गरिएको परिवारको दाबी छ । 

घटनापछि असोज २३ गते इलाका प्रहरी कार्यलय महेन्द्रनगर सुनसरीमा किटानी जाहेरी दिन गएका परिवारलाई प्रहरीले हप्काएर पठाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यलय इनरुवा जाँदा आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भन्दै प्रहरीले फिर्ता पठाएको उनीहरू बताउँछन् ।

इनरुवा अस्पतालले पनि पोस्टमार्टम रिपोर्ट आउन एक वर्ष लाग्ने भन्दै झुलाउँदै आएको पीडितको भनाइ छ । पीडित परिवार न्यायको खोेजीमा विभिन्न निकायमा धाइरहेको छ । 

दीपक खत्वेका अनुसार मूर्ति सेलाउन सुरेश खत्वे, राजाराम खत्वे, राधे खत्वे, दीपक खत्वे, श्यामदेव खत्वे, जितेश खत्वे, सुरज खत्वे, तुलसी खत्वे, पारस खत्वे, राहुल शाह, दिनेश पण्डित, राजकुमार खत्वे लगायत २५ जनाको उपस्थिति थियो ।