धरानः सुनसरीको धरानमा २६ औं विश्व खेलकुद दिवसको अवसर पारेर धरान उपमहानगरपालिका का ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ ।
सुनसरी जिल्ला बक्सिङ संघले धरान १६ स्थित रंगशालामा आयोजना गरेको कार्यक्रममा धरान उपमहानगरका मेयर तिलक राईले खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गरे । धरानमा आयोजित गत चैत्र २५, २६ र २७ गते प्रदेशस्तरीय वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोगितामा धरानका ७ जना खेलाडीहरुले स्वर्ण पदक जितेका थिए । विजेता खेलाडीहरुलाई सुनसरी जिल्ला बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रोत्साहन पुरस्कार वितरण गरिएको हो । बक्सिङ खेलमा पहिलो पटक रिङमा प्रवेश गर्ने खेलाडीलाई नोभिस भनिन्छ । मेयर राईले स्वर्ण पदक विजेता खेलाडीहरुलाई उपमहानगरको तर्फबाट जनही नगद ५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुका अनुसार वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोगितामा महिलातर्फ (५१ केजी) ओङबुङ्ला हाङमा शुभानी राई, (५४ केजी) एलिसका रत्न, (५७ केजी) सृजना गुरुङले स्वर्ण पदक प्राप्त गरेका थिए भने पुरुषतर्फ (५२ केजी) सिंहवीर लिम्बू, (५६ केजी) सौगात लामा, (६४ केजि) धिरज गुरुङ र (७५ केजि) अमृत लिम्बुले स्वर्ण पदक जितेका थिए । साथै, प्रशिक्षक शौरभ लामालाई पनि मेडल लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मेयर राई र वडा नं. १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र)ले बक्सिङ संघलाई ५ हजार रुपैयाँ सहयोगसमेत गरेका थिए ।
उपमहानगरले खेलकुद क्षेत्रमा धेरै खर्च गर्न नसकेको बताउँदै मेयर राइले चालु वर्षमा एक करोड बजेट छुट्याएको बताए । “हामीले अलिकति बजेट थप्न खोजेका थियौं, अलिकति थप्न खोज्दाखेरी बजेटको अभाव भयो,” मेयर राईले भने, “तर, पनि यसपालि हामीले खेलकुदमा साह्रो गाह्रो नपरोस् भनेर विविध पक्षहरुमा खेल मैदान र व्यवस्थापन शीर्षकमा केही पैसा राखेका छौं, त्यसले पनि खेल क्षेत्रमा थप टेवा पुग्नसक्छ ।” खेल क्षेत्र ठूलो क्षेत्र रहेको बताउँदै मेयर राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथमिकतामा ंराखेको बताए । मेयर राईले खेललाई व्यवसायीकरण गर्न पनि सुझाव दिएका छन् । “फुटबल त टिकट सिस्टममा हुन्छ नै, बक्सिङ लगायत अन्य खेलहरुमा पनि कम्तिमा १० रुपैयाँ राख्यौँ भने केही महत्व राख्न सक्छ,” मेयर राईले भने ।
यस्तै, शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख रत्न कट्वालले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्र सोचेजस्तो तरिकाले अगाडी बढ्न नसकेको बताए । राष्ट्रको शिर उच्च बनाउने क्षेत्र नै खेलकुद क्षेत्र हो । तर, राज्यले नै खेलकुद क्षेत्रलाई बुझ्न नसकेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्रबहादुर लिम्बूले २६ औं विश्व खेलकुद दिवसकै दिन सुनसरी जिल्ला बक्सिङ संघको स्थापना भएको जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए ।