धरानः धरानको कुलुङ चोकमा रहेको वीरबहादुर राईको घरमा आइतबार राती आगलागी हुँदा घरसहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ । राती ९ बजेदेखि लागेको आगोले टिनले छाएको घरसहित घरको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो ।

आगलागीमा घरसहित नगद ३ लाख १० हजार रुपैयाँ, फ्रिज, पलङ, दराज, भाँडाकँुडा, खाद्यान्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगलागीको कारण हालसम्म खुल्न नसेकको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए । ‘आगलागी के कति कारणले भयो त्यो खुलेको छैन,’ उनले भने, ‘घरमा कोही मान्छे नभएको समयमा आगो लागेछ ।’

स्थानीय गीता दर्नालका अनुसार आगो बीचको कोठाबाट लाग्न शुरु भएको थियो । स्थानीयका अनुसार राति लोडसेडिङपछि बिजुली आउनासाथ आगलागी शुरु भएकाले विद्युत सट भएर आगो लागेको थियो । आगलागी भएको समयमा घरमा कोही पनि नभएको बताइएको छ ।

आगो लागेको थाहा पाउनासाथ वीरबहादरकी श्रीमती शान्ति आएकी थिइन् । उनी आउँदा घर जलिसकेको थियो । ‘म आउँदा त घरमा आगो पुरै लागिसकेको थियो’, उनले भावुक हुँदै भनिन्, ‘किस्ता तिर्ने १२ हजार रुपैयाँ मैले राखेको थिएँ, त्यो सहित सबै सामान पनि जल्यो । श्रीमान्ले पनि ऋण तिर्ने पैसा राख्नुभएको थियो ।’

धरान उपमहानगरको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।