विराटनगरः बुहारी कुट्दा विराटनगरमा एक महिलाले प्रहरी खोरमा बास बस्नुपरेको छ । विराटनगर–१ की देविका कँडेलले आफूलाई श्रीमान् र आमाजूले यातना दिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले होमा घिमिरेलाई पक्राउ गरेको हो । उनी नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरुण दलको पूर्व केन्द्रीय सदस्य पनि हुन् ।
आफूलाई विवाह गरेर ल्याएको ५ वर्षसम्म विवाह दर्ता नगरिदिएको र छोरी जन्मेको ३ वर्ष हुँदा पनि जन्मदर्ता नगरिदिएको गुनासो पीडित कँडेलको थियो । यस बारेमा परिवारमा कुरा विवाह दर्ता र जन्मदर्ता चाहिँदैन भन्दै परिवारका सदस्य मिलेर यातना दिने गरेको उनले दुखेसो पोखिन् । उनका दाजु कृष्ण कँडेलले बहिनीलाई कानुनी रूपमा स्वीकार गर्न नसक्दा समस्या निम्तिएको बताए ।
हरेक दिन यातना दिने गरेका कारण सहन नसकी बहिनीले न्याय खोज्न प्रहरी कार्यालय आउनु परेको उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङको महिला बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक जमुना बस्नेतले पीडित कँडेलका श्रीमान् खगेन्द्र र आमाजू होमालाई नियन्त्रणमा लिइएको बताइन् ।