विराटनगरः मोरङ प्रहरीले बुढीगंगा–१ गंगाचोकमा रहेको कोशी होम एप्लाइसेन्समा छापा हानेर जुवाडे पक्राउ गर्नुपूर्व नै सूचना चुहाएर केहिलाई भगाएको खुलेको छ ।

विशेष सुराकीको आधारमा पक्राउ गरिएको भनिएका ५ जना जुवाडेसँगै रहेका अन्यलाई भने भगाइएको रहस्य बाहिर आएको हो ।

प्रहरीकै सूचनाका आधारमा जहदा गाउँपालिकाका नेता जितु शाह, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा, गोल्छा अर्गनाइजेसनका दिवाकर गोल्छा, विराटनगरका चर्चित जुवाडे चुन्नु राठी र अर्का जुवाडे सुनिल बिडला भने प्रहरीले छापा मार्नु अघि नै भाग्न सफल भएका थिए ।

प्रहरीले छापा हानेको भवन कोशी होमको भवन स्वस्तिक जुट उद्योगका मालिक चम्पालाल राठीले प्रयोग गर्दै आएको गोदाम घर हो । आइतबार बिहान २ बजे त्यहाँ छापा हान्दा राठीसहित विराटनगर–५ का जीवन रिजाल, विराटनगर–३ मुकेशकुमार अग्रवाल, विराटनगर–७ विमल अग्रवाल र हंशराज जैन पक्राउ परे पनि अन्यलाई भने सूचना दिएर भगाउने र लुकाउने काम भएको बुझिएको छ ।

प्रहरीले जुवा खालमा छापा हान्नु अगाडि वाणिज्य सङ्घका केन्द्रीय सदस्य बोहरा, स्थानीय चुनावमा नेपाली काङ्ग्रेसको तर्फबाट जहदा गाउँपालिका प्रमुखको उम्मेद्वार बनेका जितुु शाह र उद्योगी सुनिल बिडला गोदामबाहिर आइसकेका थिए । २ घण्टादेखि घुमुवाले घेरा हालेर बसेको गोदाम घरभित्र जुवा खेलिरहेका उनीहरूलाई घुमुवाकै सूचनाले बाहिर निस्कन मद्दत पुगेको बुझिएको छ ।

प्रहरीले छापा हानिरहँदा खालमै रहेका विराटनगरका चर्चित जुवाडे चुन्नु राठी र उद्योगी दिवाकर गोल्छा भने उद्योग परिसरमा लुकेर बसेका थिए । तर, प्रहरीले उनीहरूलाई देखे पनि छोडेर आएको थियो ।

पक्राउ परेकामध्ये हंशराज जैन र चुन्नु राठी चर्चित फट्का काण्डमा समेत विराटनगरका चिनिएका पात्र हुन् । अन्यले चाडपर्वमा मात्रै जुवा तथा तास खेल्ने गरे पनि हरेक पर्वका लागि चर्चित मानिन्छन् । केही वर्ष अगाडि बरगाछीस्थित विनोद राठीले सञ्चालन गरेको ग्यारेजमा समेत हालै पक्राउ परेकै व्यक्तिले खेलेको जुवा खाल स्थानीय दादाले लुटेका थिए । उसबेला झण्डै ३० लाख रुपैयाँ लुटिए पनि कसैले कतै खबर भने गरेनन् ।

उद्योगी पक्राउ परेपछि छुटाउन भने जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उद्योगीकै लर्को छ । लबिङमा विभिन्न राजनीतिक दलका नेताको समेत सहयोग लिएर उद्योगी लागेका हुन् । उद्योगी व्यवसायीबीच पछिल्लो समय देखिएको विवादले अहिलेको प्रकरणमा थुन्नुपर्ने र छोड्नुपर्ने पक्षमा विभिन्न धार देखिएको बताइन्छ ।

प्रहरीले पाँच जुवाडेसहित नगद १ लाख ९० हजार १ सय ४० रुपैयाँ नगद बरामद गरेको थियो । स्रोतका अनुसार सबैभन्दा बढी रकम व्यवसायी एवं उद्योगी बोहरा र जीतु शाहले मारेका थिए । उनीहरू त्यहाँबाट बाहिरए पनि त्यो भन्दा बढी रकम खालमा रहेको थियो । जुवा खालको सूचना राख्नेमध्येका एक जुवाडेका अनुसार चुन्नु राठीले केही रकम भने गोदाममै लुकाएर राखी दिउँसो सुरक्षा गार्डमार्फत् फिर्ता लिएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकालाई ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । तर, दबाबका कारण उनीहरूको मुद्दा तत्कालै सुनुवाइ गर्ने तयारी छ ।

नयाँ मुलुकी अपराध संहिताले बाजी राख्ने, जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेलाई कडा सजाय तोकेको छ । ऐनमा पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार जरिवाना, दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ र त्यसपछि सोही व्यक्ति पक्राउ परेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना हुने व्यवस्था गरेको छ ।