राजविराज/ राजविराज विमानस्थलवाट नियमित उडान शुरु भएको छ । श्री एयरलाइन्सको ५० सिटे जेट इन्जिनयुक्त सिआर २०० को जहाजले आइतबारबाट नियमित उडानको शुरुवात गरेको हो ।
चालक दलका ४ सदस्यसहित ५० जना यात्रु लिएर ३ बजेर २० मिनेटमा श्री एयरलाइन्सको विमान राजविराज विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं–राजविराज उडानका क्रममा विमानमा सप्तरी र उदयपुरका साथै जना भारतीय यात्रु समेत थिए ।
राजविराजबाट ४ बजेर ५ मिनेटमा काठमाडौंका लागि उडेको सो विमानमा २० जना यात्रुले यात्रा गरेका थिए । विमानका पाइलट क्याप्टेन राजेश श्रेष्ठले जहाजका लागि विमानस्थल सहज भएको बताए । उनले विमानस्थलको धावन मार्गको लम्बाइ अझै २/३ सय मिटर बढाउन सके झन् सहज हुने सुझाव पनि दिए ।
पहिलो उडानबाट राजविराज आएका चालक दलका सदस्य र यात्रुलाई सप्तरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, विमानस्थलका लागि जग्गादाता परिवारकी महामाया सिंहलगायतले फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
पहिलो उडान हेर्न विमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो । विमान सेवा सञ्चालनमा आएपछि सप्तरीसहित सिरहा, सुनसरी उदयपुर तथा सीमावर्ती भारतसम्मका यात्रुले राजविराजबाट विमान सेवाको सुविधा पाउने छन् ।
राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहका अनुसार नियमित उडानका लागि श्री एयरलाइन्ससँग सम्झौता भएको र सो कम्पनीले शनिबार र मंगलवार बाहेक साताको ५ दिन उडान भर्ने बताए ।
हाल राजविराज–काठमाडौंको न्यूनतम ३ हजार ५ सय र अधिकतम ६ हजार २ सय रुपैयाँ भाडा तोकिएको छ । काठमाडौंबाट राजविराजका लागि सवा १ र राजविराजवाट काठमाडौंका लागि सवा २ बजेकोे उडानतालिका निर्धारण गरिएको छ ।
२०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थल पटकपटक सञ्चालनमा आए पनि कच्ची धावनमार्गका कारण बन्द हुँदै आएको थियो । १ महिनाअघि मात्रै विमानस्थलमा १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडाइ पक्की धावनमार्ग निर्माण गरी हवाइ सेवा शुरु गरिएको हो ।
सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थलमा गत जेठ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उडान सेवाको उद्घाटन गरेका थिए ।