विराटनगरः मोरङको रंङ्गेली–३ मा रहेको आनन्द इँटा उद्योग परिसरभित्रैबाट अवैध गाँजाको कारोबार हुने गरेको खुलेको छ । सो उद्योग परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका भारतीय नागरिक हेमन्त बर्मनले अवैध रूपमा गाँजा भित्र्याएर त्यहाँबाट कारोबार गर्ने गरेको खुलेको हो । सो उद्योग रङ्गेलीका मेयर दिलीप बगडियाले सञ्चालन गर्दै आएका छन् ।

३० वर्षीय बर्मनलाई गाँजासहित प्रहरीले नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार बर्मनले त्यहीँ काम गर्ने मजदुर तथा कामदारलाई गाँजा उपलब्ध गराउँदै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बर्मनले आफूले भारत तथा नेपालबाटै गाँजा मगाएर मजदुर तथा कामदारलाई उपलब्ध गराउने गरेको बयान दिएका छन् ।

उनले सो उद्योगमा कार्यरत मजदुरलाई प्रतिचिम्नी ८० रुपैयाँ लिएर गाँजा उपलब्ध गराउने गरेको उनले बताएका छन् । नगरप्रमुखको उद्योगभित्रै यस्तो कारोबार हुने गरेको सूचना पाएपछि प्रहरीले विशेष निगरानीसहित छापा हानेको थियो ।
प्रहरीले छापा हान्दा साढे दुई केजी गाँजा भेटिएपछि बर्मनलाई पक्राउ गरी लागुऔषध कारोबार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । गाँजाको लत बसाएर मजदुरले महिनाभर आर्जन गरेको रकम सकिदिने र बढी आम्दानी लिने मनसायले भारतीय नागरिक बर्मनले कारोबार सुरु गरेको खुलेको छ । कार्यरत मजदुरका आफन्तले उद्योग प्रशासनलाई मजदुरको तलब परिवारका सदस्यलाई बुझाउन यसअघि नै आग्रह गरेका थिए ।

उद्योग प्रशासनले आफन्तको कुरा नसुनेको र गाँजा खाएर परिवारका सदस्य घरमा आउने गरेको भन्दै मजदुरका आफन्तले प्रहरीमा खबर गरेका हुन् । धैरैको गुनासो आएपछि प्रहरीले समेत विशेष निगरानी राखेर छापा हानेको प्रहरी निरीक्षक कार्की बताउँछन् ।

यस अगाडि सो उद्योगमा श्रम कार्यालय विराटनगरले समेत अनुगमन गरेको थियो । मजदुरले पाउने पारिश्रमिक नपाएको गुनासोसहित श्रम कार्यालयमा उजुरी परेपछि कार्यालयले अनुगमन गरेको थियो । अनुगमनपछि तत्काल श्रम ऐनले तोकेको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले बताए ।