इटहरीः फेसबुकको स्टाटसमा भजनको विरोध गरेको भन्दै स्टाटस पोस्ट गर्नेको घर घेर्न पुगेकी पाथीभरा दासीले आफ्नो गल्ती स्वीकार गरेकी छिन् ।

‘श्री पाथीभरा आमा भक्ति सेवा संस्था’ द्वारा आयोजित पुराणमा बजाएको भजनको बारेमा इटहरी–४ की दुर्गा गौतमले फेसबुक स्टाटसमार्फत् आलोचना गरेकी थिइन् । भजनको विषयमा फेसबुक स्टाटसमार्फत् आलोचना गरेपछि आयोजकले उनको घर घेरेको थियो ।

यसरी बाध्य भइन् माफी माग्न
घर घेरेको र फोनमा धम्क्याएको विषयमा इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन परेपछि आयोजक समिति गल्ती भएको स्वीकार गर्न बाध्य भएको हो ।

घर घेरेको र फोनमा धम्क्याएको विषय सामाजिक सञ्जालमार्फत् भाइरल भयो । त्यससँगै गौतमले आयोजक समितिकी संयोजक मनिका कटुवाल (पाथीभरा दासी) का विरुद्धमा इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दर्ता गराएकी थिइन् ।

निवेदनका आधारमा प्रहरीले दासीलाई इलाका प्रहरी कार्यालय इटहरीमा बोलाएको थियो । सार्वजनिक पुराणको आलोचना स्वाभाविक भएको भन्दै सर्वसाधारणले विरोध गर्न थालेपछि आयोजक लचिलो भएको हो । इलाका प्रहरी कार्यालयमै संयोजक दासीले घर घेर्नु गल्ती भएको स्वीकार गरेकी हुन् ।

गौतमले पुराण र भजन सुनेर आनन्द लिन पुराणस्थलमा जाँदा कुनै पार्टी वा डिस्कोमा गएझैँ लाग्यो भन्ने आशयको फेसबुक स्टाटस लेखेकी थिइन् । स्टाटस पढेपछि भोलिपल्ट कात्तिक २८ गते पुराण आयोजकको तर्फबाट दासीको नेतृत्वमा गएको टोलीले गौतमको घर घेराउ गरी स्टाटस लेख्नुको कारण सोधेको थियो ।

साँझमा घरमै आएर आफूलाई गालीगलौज गरेको र त्यसपछि फेरि स्टाटस लेख्दा अब फेरि पुराणसम्बन्धी स्टाटस आयो भने मैले जानेकी छु भन्दै दासीले फोनमार्फत् धम्क्याएकी थिइन् ।

सो फोनमा दासीले आफ्नो नाममा मुद्दा हाल्न जान समेत सुझाएकी थिइन् । ‘सक्छेस् भने मलाई मुद्दा हालेर देखा,’ अडियो रेकर्डमा उनले भनेकी छिन्, ‘तँलाई तिमी भन्नुपर्ने केही कारण छैन । त्यसैले मेरो नाममा मुद्दा हाल्न जा ।’ उनकै सुझावको आधारमा आफूले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएको गौतमले बताइन् ।

घर घेर्नु र फोनमा गाली गर्नु गलत भएको स्वीकार गर्दै आयोजक समितिले गल्ती स्वीकारेको हो । इलाका प्रहरी कार्यालय इटहरीमा शनिबार भएको छलफलमा प्रहरीले मिलापत्र गराएको हो । पुराण आयोजकको तर्फबाट नेकपाका नेता सागर सुवेदीको समेत छलफलमा सहभागिता रहेको थियो ।