इनरुवाः सुनसरीको दुहबीमा प्रहरी कार्यालयभित्र दुई पक्षीय छलफलका क्रममा एक जना कानुन व्यवसायीलाई प्रहरी अधिकृतहरूले हातपात गरेको आरोप लगाइएको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय दुहबीमा सवारी दुर्घटना समबन्धी घटनामा छलफल हुँदा सुनसरी जिल्ला अदालत बार एसोसिएसन इकाइका सदस्य समेत रहेका अधिवक्ता विनोदकुमार चौधरीमाथि हातपात भएको आरोप लागेको हो ।

भोलिपल्ट शनिबार पीडित चौधरीले इनरुवामा पत्रकार सम्मेलन गरी प्रहरी निरीक्षक रामनारायण माझी, प्रहरी नायव निरीक्षक गोपालप्रसाद सापकोटा, प्रहरी सहायक निरीक्षकद्वय डम्बर गौतम र रोहित दाहालले हातपात गरेको बताइएको छ ।

अदालतमा गएर मुद्दा दर्ता गर्ने, अदालतमा गएर बोल्ने भन्दै धम्क्याउँदै लगाएको कपडा समातेर हातपात गरी थुनुवा कक्षमा थुन्न समेत खोजेको जनाएका छन् ।

प्रहरी कार्यालयमा भएको छलफलमा भुपेन्द्र चौधरीको पक्षबाट आफुले भनाइ राख्न खोज्दा प्रहरी अधिकृतहरूले दुव्र्यवहार गरेको पत्रकार सम्मेलनमा चौधरीले बताए ।

चौधरीले आफूमाथि कार्यालय हातामा हातपात र दुव्र्यवहार गरी धम्की दिने प्रहरी अधिकृतलाई कानुनबमोजिम कारवाही गर्न माग गरेका छन् ।

उता, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले कार्यालय हाताभित्र छलफलका क्रममा होहल्ला भएकाले दुवै पक्षलाई बाहिर जान आग्रह गरी बाहिर पठाएको बताउँदै वकिललाई कुनै हातपात नगरेको दाबी गरेका छन ।

घटनाको सम्बन्धमा नेपाल बार एसोससिएसन सुनसरी र जिल्ला अदालत बार एसोसिएन सुनसरीले घटनाका सम्बन्धमा सत्यतथ्य बुझी दोषीलाई कारवाहीको माग गर्ने र थप कार्यक्रम गर्ने तयारी गरेको बताइएको छ ।