काठमाडौँः थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
तिजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । उनका अनुसार व्यस्त काठमाडौँवासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी सञ्चालन गरिने ओपीडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए । यसैगरी, नर्भिक अस्पतालले ओपीडीको सन्ध्याकालीन सेवा समेत सञ्चालन गरिरहेको छ ।
यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए । दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो । यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छूटसम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ ।