इटहरीः सुनसरीको इटहरीबाट सञ्चालित नेपाल टेलिभिजनको भगिनी च्यानल एनटीभी इटहरीमा कार्यरत करारका कर्मचारीहरुमाथि श्रम शोषणको आरोप खेपिरहेका कार्यक्रम निर्माता बद्री गौतमका थप कतुर्त प्रदेश पोर्टलले फेला पारेको छ ।

एनटीभी इटहरीको स्थापनासँगै करारमा भर्ना गरिएका समाचार कक्षका सञ्चारकर्मीहरुले निर्माण तथा सञ्चालन गरिरहेको कार्यक्रमहरुको रकम एकमुष्ट आफूले बुझेर केही रकम मात्र उनीहरुलाई दिँदै आएको घटना सेलाउन नपाउँदै कार्यक्रम निर्माता गौतमले स्टेसनलाई डुबाउनेगरी अन्य गतिविधिसमेत गरेको स्रोतले जानकारी दिएको छ । एनटीभी इटहरीले निर्माण गर्ने कार्यक्रमहरुको रकम आफूले कुम्ल्याएर ग्रफिक्स तथा स्वराङ्कन गर्ने र अरुले गरेको श्रमको मूल्यसमेत आफूले पचाउने गरेको कर्मचारी स्रोतले जानकारी दिएको छ । एनटीभी इटहरीको पहिलो वार्षिकोत्सवमा समेत कर्मचारीहरुलाई काम लगाएर आफूले मात्र भुक्तानी लिएको पीडित कर्मचारीहरुले गुनासो गरेका छन् । निर्माता गौतमविरुद्ध बोल्न खोजे विभिन्न बहानामा दुःख दिने गरेको कर्मचारीहरुको गुनासो रेहेको छ । धनकुटाको छिन्ताङको वृत्तचित्रमा एनटीभीले पहिले नै छायांकन गरिसकेको दृष्य राखेर ४० हजार रुपैयाँ बुझेका निर्माता गौतमले विराटनगर सम्वाददाता मोहन मानन्धरले निर्माण गरेका दुइ वटा डकुमेन्ट्रिको केही रकम मात्र दिएर अरु रकम आफैँले कुम्ल्याएका थिए ।

त्यस्तै, एनटीभी इटहरीका सम्वाददाता बिनु तिम्सिनाले तयार पारेको वृत्तचित्रको रकमसमेत गौतमले हिनामिना गरेका थिए । रकम पाउन निकै हारगुहार गरेपछि गुपचुपमा केही रकम दिएर बिनुलाई गौतमले थामथुप पारेको स्रोतले जानकारी दिएको छ । बिनुले भने आफुमाथि एनटीभी इटहरीबाट अन्याय नभएको दाबी गरिन् । उनले एनटीभीको नियम अनुसार प्रकृया पुर्याएर आफूले डकुमेन्ट्रि बनाए बापतको उचित पारिश्रमिक प्राप्त गरेको बताइन् । एनटीभी इटहरीले आफूलाई प्रदान गरेको पारिश्रमिकको प्रमाण सुरक्षित रहेको उनले जिकीर गरिन् । उनले कार्यालय प्रमुखलाई निवेदन दिएपछि मात्र सबै प्रकृया पुर्याएर भुक्तानी पाएको प्रष्ट पारिन् । एक वर्षका लागि नेपाल टेलिभिजनले एनटीभी इटहरी पठाएका गौतम आर्थिक लाभकै कारण दुइ वर्ष हुन लागिसक्दासमेत सोर्सफोर्सका भरमा सोही कार्यालयमा अड्डा जमाएर बसेका छन् । आर्थिक प्रलोभनमा फसेका गौतमले घर भाडाबापत मासिक ४ हजार रुपैयाँ बुझ्दै आएका छन् । तर एनटीभी इटहरीको अथिति गृह कब्जा गरेर बस्दै आएका छन् । जसका कारण काठमाडौँबाट आएका कर्मचारीहरु होटलमा बस्न बाध्य भएका छन् । राजनीतिक पहँचकै भरमा कारबाही छल्दै आएका गौतमको कार्यालयका अधिकांश कर्मचारीहरुसँग मनमुटाव र कामै गर्ने वातावरण नहुँदासमेत उनी डेरा जमाएर बसेका हुन् । उनले गरेका अर्थिक अनियमितता तथा करारका कर्मचारीहरुको श्रम शोषणबारे कार्यालयभित्र हल्ला चलेपछि आन्तरिक लेखापरीक्षणका लागि काठमाडौँको टोलीसमेत केही समय एनटीभी इटहरी आएको थियो । परीक्षणमा समेत निर्माता गौतमको कैफियत देखिएको स्रोतले जानकारी दिएको छ । कैफियत देखाएकै कारण लेखापरीक्षक र गौतमबीच कार्यालयमा नै चर्काचर्की परेको थियो ।

आर्थिक मामिलामा बदनाम गौतमको चरित्रमाथि समेत प्रश्न उठेको छ । कार्यालयकै महिला कर्मचारीसँग अश्लिल च्याट आदानप्रदान गरेको घटना सेलाउन नपाउँदै गौतमलाई खोज्दै बाहिरबाट एक युवतिले समाचार कक्षमा अनावश्यक फोन गरेर हैरान पार्ने गरेको कर्मचारी स्रोतले जानकारी दिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्टाफ नर्सका रुपमा कार्यरत ती युवतिले बेलाबखत गौतमको फोन नउठेपछि समाचार कक्षको नम्बरमा फोन गरेर हैरान गर्ने गरेको तनाव खेपिरहेका सञ्चारकर्मीहरुले गुनासो गरेका छन् ।

अनियमितताको आरोप लागेका कार्यक्रम निर्माता गौतमको प्रतिकृया लिन प्रदेश पोर्टलले उनलाई टेलिफोन सम्पर्क गर्न खोज्दा उनले मोबाइलको स्वीच अफ गरेको पाइयो । त्यसपछि प्रदेश पोर्टलले नेपाल टेलिभिजन इटहरीका प्रमुख पुष्पहरि क्याम्पाराईलाई सम्पर्क गर्यो । उनले कार्यक्रम निर्माता गौतमले आर्थिक अनियमितता वा कर्मचारीको शोषण गरेको उजुरी वा गुनासो आफूसम्म नआएकाले आफू अनभिज्ञ रहेको प्रतिकृया दिए । कार्यक्रम निर्माण गर्नेहरुलाई चेकमार्फत् भुक्तानी दिने गरिएकाले अनियमितता हुन नपाउने उनको भनाइ थियो । एक वर्षका लागि मात्र आएका गौतम किन हालसम्म बसिरहे ? भन्ने प्रश्नको जवाफमा प्रमुख क्याम्पाराईले कर्मचारीको पदावधि किटान नगरी आवश्यकताका आधारमा जिम्मेवारी दिई पठाइने व्यवस्था रहेको जिकीर गरे ।

कार्यक्रम निर्माता गौतमले मासिक चार हजार रुपैयाँ भाडा लिने र अतिथि गृह पनि नछोड्ने गरेको प्रसंग निकाल्दा प्रमुख क्याम्पाराईले टेलिभिजनको स्वामित्वमा अतिथि गृह नभएको बताउँदै कार्यालय प्रमुखसँगै कार्यक्रम निर्माता गौतम पनि एकै ठाउँमा कोठा भाडामा लिएर बसिरहेको उल्लेख गरे । कार्यालय प्रमुखले मासिक १० रुपैयाँमा तीन हजार रुपैयाँ कर कटाएर बाँकी रहेको सात हजार रुपैयाँ मात्र कोठा भाडाबापत पाउने गरेको उनले प्रष्ट पारे ।