पाँचथरः पाँचथरमा हेंवाखोलाले बगाएर बेपत्ता बनाएको ८ दिनपछि बालिकाको शव फेला परेको छ ।

हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी ४ वर्षीया छोरी आँचललाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । भदौ २१ गते बेपत्ता भएकी बालिकाको शव मङ्गलबार फेला परेको प्रहरीले जनाएको छ । फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाएर बालिकालाई बेपत्ता बनाएको थियो ।

बेपत्ता भएको स्थानबाट करिब सय मिटर तल पुलको मुनि चेपमा बालिकको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको पाँचथर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । -रासस