इटहरीः नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाउँदै मोबाइल बैंकिङमार्फत् गरिने भुक्तानीलाइ एकै कारोबारमा १ लाखसम्म ट्रान्सफर गर्न मिल्ने सीमामा पुर्याएको छ ।

मङ्गलबार एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले भुक्तानी प्रणालीमा मोबाइल बैंकिङ्गमार्फत् हुने कारोबारको सीमा बढाएको हो । राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको हो । यसअघि यस्तो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ थियो । यस्तै, वालेटबाट बैंक खातामा पैसा पठाउँदासमेत सोही सीमा लागु हुन्छ । यता, एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने केन्द्रीय बैंकले कुनै परिवर्तन गरेको छैन । वालेटमार्फत् अर्को वालेटमा पैसा पठाउँदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ । वालेटमा बढीमा ५० हजारसम्म ओभरनाइट मौज्दात राख्न पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यसअघि यस्तो सीमा २५ हजार मात्र थियो । डिजिटल भुक्तानीलाइ सहज बनाउँदै केन्द्रीय बैंकले यो वर्षलाइ डिजिटल भुक्तानीको वर्षको रूपमा मनाउने तयारीसमेत गरेकाले सीमा बढाएको हो । संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिन्छ । कारोबारमा बिचौलिया बढ्ने डरले १० भन्दा बढी कारोबार भने गर्न पाइँदैन । केन्द्रीय बैंकले क्युआर कोर्डमार्फत् हुने भुक्तानीको सीमासमेत बढाएर मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम २ लाख रुपैयाँ पुर्याएको छ भने इन्टरनेट बैंकिङमार्फत् हुने भुक्तानीको सीमा प्रतिदिन २० लाख रुपैयाँ पुर्याएको छ । यसअघि मोबाइल बैंकिङ्गमार्फत् हुने कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ थियो भने इन्टरनेट बैंकिङ्गमार्फत् हुने कारोबारको सीमा १० लाख थियो । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल बैंकिङमार्फत् विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिन पाउने अधिकतम शुल्कसमेत केन्द्रीय बैंकले तोकेको छ। यसमा ५० हजार रुपैयाँसम्म प्रतिकारोबार अधिकतम १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रतिकारोबार अधिकतम २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि प्रतिकारोबार अधिकतम ३० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।