इटहरीः समयमै सांसदबाट बजेट पारित नहुँदा आज रातिबाट लागु हुनेगरी सरकारी बजेट निष्क्रिय हुने भएको छ ।

नेकपा एमालेले विभिन्न माग राखी संसदलाइ बन्दि बनाएपछि अर्थमन्त्रीले पेस गरेको बजेट संसदबाट पारित नभएका कारण आज रातिबाट सरकारले कुनै पनि निकायको ढुकुटी छुन नपाउने भएको हो । आजसम्म बजेट पारित भए नियमित कार्य सञ्चालन गर्न सकिने भएपनि संसद बैठक नै असोज ४ गते सम्मका लागि स्थगित भएकोले बजेट पारित हुँदासम्म सरकारी ढुकुटीबाट खर्च गर्न पाइँदैन । यसले गर्दा आजदेखि चालू आर्थिक वर्षका लागि विनियोजित बजेट निष्क्रिय हुने भएको छ । यो अवस्थामा सरकारले राजश्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउनेछैन । सरकारलाई एकदमै समस्या परी खर्च गर्नुपर्ने अवस्था आएमा सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत् आकस्मिक खर्च गर्न सक्ने अर्थ मन्त्रालयले बताएको छ ।

जानकारहरुका अनुसार आज रातिसम्म बजेटको अन्योलबारे कुनै निर्णय नभए सार्वजनिक निकाय बन्द गर्नुपर्ने अवस्था आउनेछ । त्यसो भएमा देश नै बजेट होलिडे’तर्फ जानेछ । ‘बजेट होलिडे’ भन्नाले सरकारले राजश्व उठाउन पाउने तर खर्च गर्न भने नपाउने अवस्था हो । त्यसरी खर्च गर्न नपाउने व्यवस्थाकै कारण कतिपय निकायले गर्नुपर्ने भुक्तानी समयमा गर्न नसक्ने र त्यसो हुँदा देशले जरिवाना वा हर्जाना तिर्नुपर्ने हुन सक्छ । अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरेकाले तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए । पछि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् गएको भदौको २५ गते १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याएका छन् ।

विनियोजित बजेट सांसदमा टेबल भएदेखि बैठक अवरुद्ध छ । अवरोधका बावजुद अर्थमन्त्री शर्माले विनियोजन विधेयकलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् तर बजेट पास भने भएको छैन । बजेट पास नहँुदासम्म अब सरकारले राजश्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउनेछैन । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५÷७ दिन सरकारी खर्च रोकिन सक्ने सूचना दिइसकेका छन् । बजेट होलिडेको स्थिति आउनुलाई सरकारको कमजोरीका रुपमा समेत हेरिएको छ ।