ताप्लेजुङः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।

कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेको पाथीभरा मन्दिर असोज १ गतेबाट खुला गरिने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । हाल कोरोना सङ्क्रमण न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिको भनाइ छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम न्यून भए पनि पूर्णरुपमा हटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरूलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरूपले पालना गर्न अनुरोधसमेत गरिएको छ । ुसङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरूपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ, कार्यकारी निर्देशक काफ्लेले भने । ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ । सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ । -रासस