इटहरीः प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमका बीच मुख्यमन्त्री भिम आचार्यलाई फाउण्डेसनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकी गैरसरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेसनले स्वास्थ्यसम्बन्धी ११ प्रकारका विभिन्न सरसमानहरु हस्तान्तरण गरेको फाउण्डेसनकी कार्यकारी निर्देशक स्वाति थापाले जानकारी दिइन् । उनका अनुसार गाउन दुई हजार चार सय थान, फेस सिल्ड दुई हजार तीन सय ३२ थान, मास्क आठ हजार चार सय थान, एन ९५ डिस्पोजेबल मास्क एक हजार आठ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड एक हजार आठ सय ९० थान, पिपिई मेडियम दुई सय ७६, पिपिई लार्ज दुई सय ७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५हजार तीन सय ६० थान रहेको छ ।

IMG-20210915-WA0004

 कार्यक्रममा समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्री आचार्यले फाउण्डेसनको सामाजिक सेवा उल्लेखनीय भएको बताए । २००७ सालका क्रान्तिका योद्धा स्व.प्रतिमानचन्द्र बोहोराको स्मृतिमा उनका परिवारले फाउण्डेसन खोली स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद दिए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेसनकी कार्यकारी निर्देशक थापाले आगामी दिनहरुमा प्रदेश सरकारसँग समन्वय गरी यस प्रदेशमा कोरोना महामारीसँग लड्न र बच्नका लागि आवश्यक पर्ने थप सामग्री, प्रशिक्षणलगायतका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । संस्थाले यसअघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक थापाले बताइन् ।